राष्ट्र बैंककी निर्देशक सृजना बास्तोलाः जिम्मेवारीको दोहोरो बोझबीच नेतृत्वतर्फ एक महिलाको यात्रा


काठमाडौं -‘पुरुषले सूर्योदयदेखि सूर्यास्तसम्म काम गर्छ, तर महिलाको काम कहिल्यै सकिँदैन,’ नेपाली समाजमा प्रचलित यो भनाइले महिलाको दैनिकी र जिम्मेवारीको वास्तविकतालाई झल्काउँछ। परम्परागत रूपमा पुरुषको काम प्रायः बाहिरी दायरामा सीमित रहँदा महिलाको जिम्मेवारी भने घर र कार्यालय दुवै ठाउँमा फैलिएको हुन्छ।

यदि कुनै महिला कार्यालयमा काम गर्छिन् भने पनि काम त्यहीँ सकिँदैन। कार्यालयको कामपछि घर फर्किएपछि पनि घर सरसफाइ, खाना पकाउने, बालबालिकाको हेरचाह, किनमेल, लुगा धुने र छोराछोरीलाई विद्यालय लैजाने–ल्याउनेजस्ता जिम्मेवारीहरू उनको काँध मै रहन्छन् । यही कारण महिलाको श्रम धेरैजसो अदृश्य रहने गरेको छ।

नेपाली समाजको यही संरचना र दृष्टिकोणले महिलाहरूलाई पुरुषसरह अवसर र पदोन्नतिमा अघि बढ्न चुनौती हुने गरेको बताउँछिन् सृजना बास्तोला, जो नेपाल राष्ट्र बैंकमा निर्देशकका रूपमा कार्यरत छिन्। उनकाअनुसार पछिल्ला वर्षहरूमा केन्द्रीय बैंकमा महिला कर्मचारीको प्रवेश बढ्दै गएको छ। खुला प्रतिस्पर्धाबाट हुने भर्नामा महिलाको उपस्थिति उल्लेख्य देखिन थालेको छ, जसलाई उनले सकारात्मक परिवर्तनका रूपमा लिन्छिन्।

‘आजका महिलाहरू हरेक कोणबाट सक्षम बन्दै गएका छन्,’ उनी भन्छिन्, ‘त्यसैले उनीहरूलाई जिम्मेवारी सम्हाल्ने अवसर दिनुपर्छ।’उनकाअनुसार नयाँ कर्मचारीलाई अनुभव भएका वरिष्ठ कर्मचारीले मार्गदर्शन गर्नुपर्छ। अवसर र सहयोग मिले महिलाहरूको क्षमता अझ विकसित हुन सक्छ।

उनले महिलाहरूलाई पनि आत्मविश्वासका साथ जिम्मेवारी लिन आग्रह गर्छिन्। ‘महिलाहरूमा ‘म सक्दिन, भ्याउँदिन’ भन्ने सोच कहिलेकाहीँ देखिन्छ,’ उनी भन्छिन्, ‘तर यस्तो सोच हटाएर जिम्मेवारी लिन महिलाहरू स्वयं पनि अग्रसर हुनुपर्छ।’

हाल नेपाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहेका छन्, तर तीमध्ये एक जना पनि महिला छैनन्। यसले नेतृत्व तहमा महिलाको उपस्थिति अझै न्यून रहेको देखाउँछ। यद्यपि अबको केही वर्षभित्र ७–८ जना महिला कार्यकारी निर्देशक बन्ने सम्भावनामा रहेको उनी बताउँछिन्।

उनकाअनुसार प्रवेश तहमा महिला कर्मचारीको संख्या बढेकाले आगामी वर्षहरूमा नेतृत्व तहमा पनि महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। महिलाको करिअरमा अर्को महत्त्वपूर्ण चुनौती भनेको मातृत्वसँग सम्बन्धित अवस्था हो। गर्भावस्था र सन्तान जन्मिएपछि केही समय महिलाले काममा पूर्ण समय दिन नसक्दा पदोन्नतिमा ढिलाइ हुने उदाहरणहरू पनि देखिन्छन्। यस्तो अवस्थामा परिवारको साथ र सहयोग महत्त्वपूर्ण हुने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘विवाहपछि सन्तान जन्मिसकेपछि एउटी नारीलाई घरको जिम्मेवारी पनि स्वतः रूपमा बढ्छ।’ तर, सृजनाले भने हरेक जिम्मेवारीलाई सहजै पूरा गर्न सफल भइन्। बुबा आमाले बच्चाहरूको हेरचाहका लागी धेरै सहयोग गरेका कारण पनि कामलाई निरन्तरता दिन पाएको उनको भनाई छ। उनले कार्यालयका सहकर्मीहरूबाट पनि त्यो समयमा पाउनुपर्ने साथ पाएको कारण बच्चा हुर्काउँदै काम गर्न सीमित मात्रै चुनौती सामना गर्नुपरेको उनको भनाई छ।

चार्टर्ड एकाउन्टेन्सीबाट केन्द्रीय बैंकसम्म

भक्तपुरमा जन्मिएकी सृजना बास्तोलाले आफ्नै जिल्लाको विद्यालयबाट एसएलसी पूरा गरिन्। त्यसपछि उनले भिएस निकेतन कलेजबाट व्यवस्थापन विषयमा कक्षा ११ र १२ अध्ययन गरिन्। प्लस टू सकेपछि उनले चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन सुरु गरिन्। सीए पढ्दै गर्दा उनले शंकरदेव क्याम्पसमा स्नातकका लागि भर्ना पनि गरिन्।

तीन वर्षको आर्टिकलसिप प्रशिक्षणका क्रममा उनले सीएको अध्ययनसँगै बीबीएसको परीक्षा पनि दिइन् । त्यसपछि उनले स्नातकोत्तर अध्ययन पनि पूरा गरिन्। सीए उत्तीर्ण हुँदाको समयमा संयोगवश नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको थियो। आवेदन दिने अन्तिम दिन उनले फारम भरेकी थिइन्। र, उनी राष्ट्र बैंकको अफिसरको रूपमा २०६४ साल असार १४ गते प्रवेश गरिन्।

‘भाग्यमा पनि विश्वास गर्छु,’ उनी भन्छिन्, ‘अन्तिम दिन दिएको आवेदन स्वीकृत भयो र म २०६४ साल असार १४ गते राष्ट्र बैंकमा अफिसरका रूपमा प्रवेश गरेँ।’ पढाइमा अत्यन्तै लगनशील सृजना साथीहरूसँग घुमफिरभन्दा अध्ययनमै बढी समय खर्च गर्ने गर्थिन्। एसएलसीसम्म आइपुग्दा भने आफू कुन क्षेत्रमा जाने भन्नेबारे उनी अन्योलमै थिइन्।

एसएलसीमा राम्रो अंक ल्याएकाले धेरैले उनलाई विज्ञान विषय पढ्न सुझाव दिएका थिए। तर, विज्ञान अध्ययन गर्दा खर्च,समय र प्रतिस्पर्धा बढी हुने भएकाले उनले फरक बाटो रोजिन्। उनकी सानिमा र मामा पनि चार्टर्ड एकाउन्टेन्सी अध्ययनतर्फ लागेका कारण उनलाई पनि सोही क्षेत्रमा प्रेरणा मिल्यो।

उनका बुबा सेवा निवृत्त न्यायाधीश हुन् भने आमा गृहिणी । परिवारका जेठी छोरी सृजनाका एक बहिनी र एक भाइ छन्। उनका बुबाले पनि सीए पढ्न प्रोत्साहन गरेका थिए। त्यतिबेला सीए पढेकाहरूलाई नेपाल राष्ट्र बैंकले सेकेन्ड क्लास अफिसरको रूपमा लिने गरेको थियो। जसकारण पनि उनका बुबाले राष्ट्र बैंकको जागिर राम्रो हुने भन्दै प्रोत्साहन गरेका थिए। 

परिवारकी जेठी छोरी सृजनाका भाइ बहिनी यतिबेला विदेश मै छन्। सृजनालाई पनि बाहिर पढ्न जाने इच्छा नआएको भने होइन। त्यो समयमा १२ पास गरेपछि बिदेसिनेको लहर अहिलेको जस्तै रहेको उनको सम्झना छ। तर, उनका बुबाले बाहिर पनि बढी दुःख भएको भन्दै यही सीए पढ्न भनेका थिए। 

करिअर र परिवारको सन्तुलन

सीएको तालिम पूरा भएपछि उनले एक क्यापिटल मार्केट कम्पनीमा करिब एक वर्ष काम गरिन्। त्यसपछि भने उनको करिअर नेपाल राष्ट्र बैंकमै केन्द्रित भयो। हाल उनी दुई सन्तानकी आमा पनि हुन्। राष्ट्र बैंकमा प्रवेश गरेपछि नै उनले वैवाहिक जीवन सुरु गरेकी थिइन्। उनका श्रीमान् चिकित्सक हुन्। परिवार, विशेष गरी श्रीमान् र आमाबुबाको सहयोगका कारण आफूले करिअरलाई निरन्तरता दिन सकेको उनी बताउँछिन्। ‘म जे छु, यही केन्द्रीय बैंकका कारण छु,’ उनी भन्छिन्। ‘यहाँ काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ।’

उनका अनुसार उनी राष्ट्र बैंकमा प्रवेश गर्दा महिलाको संख्या निकै कम थियो। ‘त्यतिबेला केटीहरूको नाम खोज्नुपर्ने अवस्था थियो,’ उनी हाँस्दै भन्छिन्, ‘अहिले भने केटाहरूको नाम खोज्नुपर्ने अवस्था आएको छ।’ हाल केन्द्रीय बैंकमा करिब ३० प्रतिशत कर्मचारी महिला छन् र उनीहरूले उत्कृष्ट कार्यसम्पादन गरिरहेका छन्। बास्तोलाका अनुसार कुनै पनि क्षेत्रमा प्रवेश गर्ने महिलाले जिम्मेवारी लिन डराउनु हुँदैन। करिअर बनाउन खोज्ने महिलाहरूलाई उनको सुझाव छ, ‘सिक्न उत्सुक हुने, आत्मविश्वास राख्ने र काम गरेर देखाउने महिला जुन सुकै क्षेत्रमा सफल हुन सक्छन्।’