काठमाडौं – ताप्लेजुङको साधारण परिवारमा जन्मिएकी एक युवतीले सानैदेखि देखेको सपना भनेको नायिका बन्ने थियो। तर जीवनले उनलाई फरक बाटोमा डाेर्यायाे। आज उनी नेपाली पुँजी बजारको एक महत्त्वपूर्ण संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हालिरहेकी छन्। सङ्घर्ष, अनुशासन र निरन्तर मेहनतको यात्रा पार गर्दै प्रविन पन्दाक अहिले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रबन्ध सञ्चालकका रूपमा कार्यरत छिन्।
ताप्लेजुङको सामान्य परिवारमा हुर्किएकी पन्दाक सानैदेखि मिलनसार, रमाइलो स्वभावकी र अनुशासनमा विश्वास गर्ने स्वभावकी थिइन्। उनका बुबा ब्रिटिस आर्मीमा कार्यरत भएकाले घरपरिवारमा अनुशासनको संस्कार बलियो थियो। दुई दाजुकी एक्ली बहिनी र घरकी एक्ली छोरी भएकाले बाल्यकाल हाँसी खुसी र सिकाइले भरिएको थियो।
‘म बच्चैदेखि नायिका बन्न चाहन्थेँ।’ त्यसका लागि उनले अभिनय सिक्ने र विभिन्न गतिविधिमा सहभागी हुने प्रयाससमेत गरिन्। तर जीवन सधैँ सोचेजस्तो हुँदैन। नायिका बन्ने सपना अन्ततः अधुरै रह्यो।
उनले एसएलसीसम्मको अध्ययन पद्योदय क्याम्पसबाट पूरा गरिन्। त्यसपछि व्यवस्थापन र कानुन अध्ययन गर्दै उनले शंकरदेव क्याम्पसबाट एमबीए र नेपाल ल क्याम्पसबाट एलएलबी अध्ययन पूरा गरिन्। बाल्यकालदेखि नै पढाइप्रतिको लगाव र निरन्तरताले उनलाई अध्ययनमा अघि बढ्न प्रेरित गरिरह्यो। तर, पढाइसँगै उनको मनमा अर्को ठुलो सपना पनि थियो, नायिका बन्ने। उनी सम्झिन्छिन्, ‘म बच्चैदेखि नायिका बन्न चाहन्थेँ।’ त्यसका लागि उनले अभिनय सिक्ने र विभिन्न गतिविधिमा सहभागी हुने प्रयाससमेत गरिन्। तर जीवन सधैँ सोचेजस्तो हुँदैन। नायिका बन्ने सपना अन्ततः अधुरै रह्यो।

सपना परिवर्तन हुन सक्छन्, तर मेहनत र अनुशासनले नयाँ सम्भावनाको ढोका सधैं खोलिरहन्छ। सपनाको अन्त्यले भने उनको यात्रालाई रोक्न सकेन। उनले आफ्नो ऊर्जा र लगावलाई पढाइ र करिअरतर्फ मोडिन्। पढ्दैपढाउँदै अगाडि बढ्ने क्रममा उनले स्थायी पेशागत यात्राको लक्ष्य बनाइन्। यही निरन्तर प्रयासले उनलाई अन्ततः नेपालको पूँजी बजारसँग प्रत्यक्ष सरोकार राख्ने संस्थासम्म पुर्यायाे। उनको करिअरको औपचारिक सुरुवात २३ वर्षको उमेरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट भयो। पहिलो प्रयासमै नेप्से जस्तो महत्वपूर्ण संस्थामा प्रवेश पाउनु उनका लागि मात्र होइन, पूँजी बजारमा महिलाको सहभागिताका दृष्टिले पनि महत्वपूर्ण उपलब्धि थियो।
नेप्सेमा लामो अनुभव हासिल गरेपछि अहिले उनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा चार वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकका रूपमा कार्यरत छिन्। नेपाली पुँजी बजारको कारोबार, सेटलमेन्ट र अभिलेख व्यवस्थापन जस्ता महत्त्वपूर्ण प्रणाली सञ्चालन गर्ने संस्थाको नेतृत्व सम्हाल्दै उनले आफ्नो पेसागत यात्रालाई नयाँ उचाइमा पुर्याएकी छन्।
‘सुरुवाती समयमा पुँजी बजारमा महिला नगन्य थिए’
पुँजी बजारमा प्रवेश गर्दाको समय सम्झिँदै उनी भन्छिन् त्यतिबेला यस क्षेत्रमा महिलाको संख्या निकै कम थियो। उनकाअनुसार अहिले पनि नेपालका अधिकांश क्षेत्रमा झैं पुँजी बजारको उच्च तहमा महिलाको सहभागिता न्यून नै छ। कम्पनी ऐनले महिला सञ्चालकको व्यवस्था गरे पनि व्यवहारमा यसको प्रभाव कम देखिएको उनको भनाइ छ। उनले यस क्षेत्रमा प्रवेश गर्दा महिलाका लागि महिलामैत्री वातावरण नहुँदा महिलाप्रति विश्वासको कमी, शैक्षिक क्षमतामाथि प्रश्न र परिवारबाट अपेक्षित सहयोग नपाइनु जस्ता चुनौती रहेको बताउँछिन्। यही कारण पुँजी बजारमा महिला सहभागिता नगन्य रहेको उनको धारणा छ।
चुनौतीका चाङ पन्छाउँदै
पूँजी बजारको प्राविधिक पूर्वाधार सम्हाल्ने संस्थामा नेतृत्व लिनु पदको कुरा होइन, निरन्तर चुनौतीसँग जुध्ने प्रक्रियासमेत हो। पन्दाकका अनुसार सीडीएससीको सुरुवाती वर्षहरू सहज थिएनन्। उनले सम्झिन्छिन् ‘बाह्य सञ्चालक समिति रहेको समयमा, विशेषगरी २०६७ देखि २०७२ सालसम्म, संस्थाको सञ्चालन अपेक्षित रूपमा प्रभावकारी हुन सकेन।’ त्यसपछि नेप्सेका कर्मचारीहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै संस्थागत संरचनालाई थप व्यवस्थित बनाइएको थियो। यही प्रक्रियाले सीडीएससीलाई स्थिर र कार्यक्षम बनाउने आधार तयार गर्याे।
पन्दाकका अनुसार कर्मचारी तहमा काम गर्दाको चुनौती र नेतृत्व तहमा पुगेपछि सामना गर्नुपर्ने चुनौती फरक–फरक प्रकृतिका हुन्छन्। तर प्रभाव भने उस्तै गहिरो हुन्छ। विशेषगरी महिलाका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म यात्रा सजिलो नहुने उनी बताउँछिन्।उनका शब्दमा, ‘महिलाको क्षमतामाथि प्रश्न उठाउने, अस्तित्वमै औँला ठड्याउने र विश्वास नगर्ने प्रवृत्ति पहिले पनि थियो, अहिले पनि पूर्ण रूपमा हटेको छैन।’
समाज र पुरुष मानसिकतामा अपेक्षित परिवर्तन अझै पर्याप्त रूपमा नआएको उनको अनुभव छ।नेप्सेमा १८ वर्ष काम गरेको अनुभवले सीडीएससीको जिम्मेवारी सम्हाल्दा उनलाई काम बुझ्न भने कठिन भएन। तर, अनुभव, शैक्षिक योग्यता र लगनशीलता हुँदाहुँदै पनि आफ्ना निर्णय र क्षमतामाथि बारम्बार प्रश्न उठाइँदा अनावश्यक दबाब खेप्नुपरेको उनी बताउँछिन्। पूँजी बजारको प्रारम्भिक चरणदेखि आजसम्मको विकासलाई नजिकबाट नियालेकी पन्दाक अहिले पनि विभिन्न प्रकारका बाह्य दबाब, झुटा आरोप र अफवाहसँग जुधिरहेको बताउँछिन्। उनी भन्छिन्, ‘हामी सरकारी स्रोत र साधनको जिम्मेवारी सम्हालिरहेका छौँ। हाम्रो काममा अनावश्यक प्रश्न उठाउँदा र दुःख दिँदा अन्ततः सरकारकै समय र स्रोतको नोक्सानी हुन्छ।’
सम्झनलायक क्षण
उनका लागि नेप्सेमा प्रवेश गरेको क्षण जीवनको महत्वपूर्ण मोड थियो। लोकसेवा प्रक्रियाबाट खुला प्रतिस्पर्धामा दुई पटक नाम निकाल्न सफल हुनु होस् वा नेप्सेमै काम गर्दै गर्दा प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धामा दुई पटक सर्टलिस्टमा पर्नु, यी सबै क्षण उनी आफ्ना करिअरका विशेष उपलब्धि मान्छिन् । उनलाई नेप्सेमा काम गर्दा पूँजी बजारसँग सम्बन्धित विभिन्न मुद्दामा काम गर्ने अवसरले धेरै सिकायो।

‘सीडीएससी स्थापना हुँदा सुरुवाती चरणमा थुप्रै समस्या थिए,’ उनी भन्छिन्, ‘तर ती चुनौती पार गर्दै आज नेप्से र सीडीएससीजस्ता संस्थाले ठूलो फड्को मारेको देख्दा निकै खुशी लाग्छ।’ १८ वर्षभन्दा लामो समय पूँजी बजारसँग जोडिएको अनुभवलाई उनी आफ्नो जीवनको महत्वपूर्ण अध्याय मान्छिन्। ‘पूँजी बजारका यति महत्वपूर्ण स्थानमा बसेर काम गर्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ उनी भन्छिन्।
‘महिलामैत्री नीति अझै आवश्यक’
पन्दाकका अनुसार पूँजी बजार क्षेत्रमा महिलाको सहभागिता विगतको तुलनामा अहिले उल्लेख्य रूपमा बढेको छ। ‘मैले सुरुवाती समयमा यस क्षेत्रमा प्रवेश गर्दा महिला कर्मचारी निकै कम थिए,’ उनी भन्छिन्,‘अहिले भने संख्या उल्लेख्य रूपमा बढेको छ।’सेवासुविधा र कार्य वातावरणका हिसाबले पनि अहिले महिलाका लागि पहिलेभन्दा सहज अवस्था बनेको उनको अनुभव छ। तर उनका अनुसार नीतिगत व्यवस्था प्रायः तल्लो तहसम्म सीमित छन्। ‘माथिल्लो तहका लागि स्पष्ट र प्रभावकारी महिलामैत्री नीति अझै अभावमै छ,’ उनी भन्छिन्। उनका अनुसार संस्थागत नेतृत्व तहमा कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिनु आवश्यक छ, ताकि महिलाले आफ्ना अनुभव र मुद्दा सहज रूपमा राख्न सकून्।
उनी भन्छिन्, ‘अहिले पनि कतिपय घर–परिवार, समाज वा कार्यालयमा महिलाका लागि अनुकूल वातावरण पूर्ण रूपमा बनेको छैन।’ त्यसतर्फ सरकार र नियामक निकायको ध्यान जान आवश्यक रहेको उनी जोड दिन्छिन्। पन्दाक आफ्नो पदलाई प्रतिष्ठा वा व्यक्तिगत गौरवको विषयभन्दा बढी जिम्मेवारीका रूपमा लिन्छिन्। सीडीएससीकी प्रबन्ध सञ्चालक भए पनि उनी यसलाई ठूलो उपलब्धिभन्दा बढी दायित्वको रूपमा व्याख्या गर्छिन्। ‘मलाई यो पद धेरै ठूलो लागेको छैन, तर अत्यन्तै जिम्मेवार भने लागेको छ,’ उनी भन्छिन् ।यसअघि पनि आफूलाई प्रबन्ध सञ्चालक बन्ने प्रस्ताव आएको स्मरण गर्दै उनी बताउँछिन्, ‘त्यसबेला पनि आफूले त्यसलाई विशेष योजना बनाएर लक्ष्यका रूपमा अघि बढाएकी थिइँन।’

उनका अनुसार उनी मूलतः अपरेसन म्यानेजमेन्ट पृष्ठभूमिबाट आएकी हुन्। उनले नेप्सेमा विभिन्न तहमा काम गर्दै अनुभव बटुलेकी छन्। त्यही अनुभवको निरन्तरतामा निर्देशक हुँदै प्रबन्ध सञ्चालकको जिम्मेवारीसम्म पुग्नु स्वाभाविक क्रमजस्तै भएको उनको बुझाइ छ।उनका लागि पदभन्दा ठूलो कुरा काम र त्यससँग जोडिएको जिम्मेवारी हो। ‘पदभन्दा पनि जिम्मेवारी ठूलो हुन्छ,’ उनी दोहोर्याउँछिन्।
पन्दाकका अनुसार महिलाहरूले समाजले के भन्छ भन्नेमा धेरै अल्झिनुभन्दा आफ्नै लक्ष्य र काममा केन्द्रित हुनु आवश्यक छ।
‘आफ्नो मेहनत, इमानदारी र क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्छ,’ उनी भन्छिन्। उनका अनुसार महिला भएकै आधारमा अवसर पाइने अपेक्षा गर्नु उचित होइन। अवसर प्राप्त गर्न र त्यसलाई टिकाइराख्न आफ्नो क्षमता प्रमाणित गर्नैपर्छ। उनी जोड दिन्छिन्, ‘पद पाउनु मात्र ठूलो कुरा होइन, त्यो पदसँग जोडिएको जिम्मेवारी बहन गर्न सक्ने सीप र दक्षता हुनु अझ महत्वपूर्ण कुरा हो।’
‘हामीलाई स्किल चाहिन्छ, दक्षता चाहिन्छ,’ उनी स्पष्ट पार्छिन्। उनका अनुसार जुनसुकै क्षेत्रमा भए पनि महिलाले आफूलाई निरन्तर सुधार्दै अघि बढ्नुपर्छ। कलेज र विश्वविद्यालयहरूमा महिलाहरूले उत्कृष्ट नतिजा ल्याइरहेको उदाहरण दिँदै उनी भन्छिन्, ‘महिलाहरूमा प्रशस्त क्षमता छ।’ त्यो क्षमता सही रूपमा प्रयोग गर्न सके महिलाहरूले भविष्यमा अझ न्यायपूर्ण, पारदर्शी र जिम्मेवार नेतृत्व दिन सक्छन्।



About Us
प्रतिक्रिया