काठमाडौं – नेपाली समाजमा विवाहपछि महिलाको करिअरमा ‘ब्रेक’ लाग्छ भन्ने धारणा अझै पूर्ण रूपमा हटिसकेको छैन। कतिपय अवस्थामा यो केवल अनुमानमै सीमित हुँदैन, व्यवहारमै देखिन्छ। धेरै महिलाले विवाहपछि आफ्ना सपना र चाहनालाई थाँती राख्नुपरेको उदाहरण प्रशस्तै छन्। तर, बदलिँदो समयसँगै यो तस्वीर फेरिँदै गएको छ।
अहिले धेरै महिलाले विवाहपछि पनि आफ्ना लक्ष्यप्रति स्पष्ट रूपमा आत्मविश्वासका साथ अघि बढ्न थालेका छन्। अझ सकारात्मक पक्ष के भने, पुरुषहरू पनि जीवनसाथीको करिअर यात्रामा सहयात्री बन्न थालेका छन्। यही परिवर्तनको उदाहरण हुन् नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक निर्मला मल्ल। उनी आफ्ना बैंकर श्रीमानको प्रेरणामा नियामक निकायमा प्रवेश गरेकी हुन्। श्रीमान स्वयं हाल सिद्धार्थ बैंकमा कार्यरत छन्।

निर्मलाको शैक्षिक पृष्ठभूमि नै वित्तीय क्षेत्रसँग गाँसिएको थियो। स्नातकोत्तर अध्ययन सम्पन्न गरेसँगै उनको रुचि पनि बैंकिङ्ग क्षेत्रतर्फ स्वाभाविक रूपमा आकर्षित हुँदै गयो। यसैबीच एमबीए सकेपछि उनको विवाह भयो। श्रीमान् स्वयं बैंकिङ्ग क्षेत्रमा संलग्न भएकाले निर्मलमा पनि बैंकमै काम गर्ने सोच पलाएको थियो। तर, श्रीमानले करिअरलाई एउटै क्षेत्रमा मात्र सीमित नराख्न सुझाव दिए। फरक–फरक अनुभवले पेशागत क्षमतालाई अझ फराकिलो र समृद्ध बनाउँछ भन्ने विश्वासका साथ उनले निर्मललाई नियामक निकायतर्फ अघि बढ्न प्रेरित गरे। यही सुझावले निर्मलको करिअर यात्रालाई नयाँ मोडतर्फ अग्रसर गरायो।
आज उनी बीमा क्षेत्रको नियामक संस्थामा रहेर नीति, अनुगमन र संस्थागत सुदृढीकरणका काममा संलग्न छिन्। उनी भन्छिन्, ‘परिवारको साथबिना महिलाले करिअरलाई निरन्तरता दिन कठिन हुन्छ। धेरै उदाहरण छन्, जहाँ पारिवारिक असहयोगकै कारण महिलाले जागिर छाड्नुपरेको छ।’ तर, उनको हकमा परिवार नै बलियो आधार बन्यो। पारिवारिक सहयोगका कारण उनले कार्यालयका जिम्मेवारी पूरा गर्न आवश्यक समय र ऊर्जा दिन सकिन्।
गुल्मीको ग्वादीमा जन्मिएकी निर्मलाको बाल्यकाल सरल र ग्रामीण परिवेशमै बित्यो। विद्यालय बिदा भएको दिन घरको काम, गाई–बाख्रा चराउने जस्ता दैनिकी उनका स्मृतिमा अझै ताजा छन्। ‘बिदाको दिन गोठालो गएको क्षण अहिले पनि सम्झिन्छु,’ उनी मुस्कुराउँदै भन्छिन्। ‘सुविधाविहीन परिवेशमा हुर्किँदा ठुलो सपना देख्ने अवसर भने सीमित थियो। तर अभावले उनलाई अझ संवेदनशील र दृढ बनायो। मनमा सधैँ एउटा चाहना पलाइरहन्थ्यो। कुनै दिन राज्यको निकायमा पुगेर दुर्गम क्षेत्रका मानिसहरूको सेवामा समर्पित हुने।’
उनले प्राथमिक र माध्यमिक शिक्षा ग्वादीमै पूरा गरिन्। त्यसपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। डिल्लीबजार कन्या क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गरेपछि शंकरदेव क्याम्पसबाट बीबीए र काठमाडौं विश्वविद्यालयबाट एमबीए पूरा गरिन्।
पारिवारिक जिम्मेवारी र जीवनका मोड
संयुक्त परिवारमा हुर्किएकी निर्मला परिवारकी एक्ली छोरी हुन्। उनका बुबा भारतीय सेनामा कार्यरत थिए भने आमा गृहिणी। आर्थिक रूपमा ठुलो अभाव नहुँदा पनि एक मात्र सन्तान भएकाले जिम्मेवारीको बोध सानैदेखि थियो। बुबाको निधनपछि उनको जीवनले नयाँ मोड लियो। त्यसपछि उनी आमासँग काठमाडौंमा बसोबास गर्न आइन्। बुबाको साथमा बितेको सरल जीवन र त्यसपछिको संघर्षले उनलाई अझ आत्मनिर्भर बनायो। विवाहपछि बुबाको अभाव ससुराबाबुबाट पूरा भएको उनले अनुभव सुनाइन। उहाँको दरिलो साथ र समर्थनले यस पेसामा मन लगाएर काम गर्न उनलाई थप प्रेरणा मिलेको छ।
निर्मलाको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन। यो परिवारको साथ, सही मार्गदर्शन र आत्मविश्वासले महिलालाई कसरी अगाडि बढ्न प्रेरित गर्न सक्छ भन्ने उदाहरण पनि हो। उनको अनुभवले देखाउँछ। विवाह करिअरको अन्त्य होइन; बरु सही समझदारी र सहयोग भएमा यो नयाँ सम्भावनाको सुरुवात पनि बन्न सक्छ।
शिक्षिका, रिसर्चर हुँदै उपनिर्देशक बनेकी निर्मला
कक्षा १० उर्तीण गरेर काठमाडौं आएकी निर्मलाले सुरुका वर्षहरूमा पढाई मै पूरा समय दिइन्। आमासँगै काठमाडौं आएकी उनलाई उनकी आमाले पनि पढाईमै जोड दिन्थिन्। उनले एमबीए सकेपछि मात्रै जागीरे जीवन सुरु गरेकी हुन्। सुरुमा उनी कलेज पढाउँथिन्। अर्थशास्त्रमा रुची राख्ने निर्मलाले स्नातक पढ्नेहरूलाई अर्थशास्त्र पढाउँथिन्। बिहान कलेजमा पढाउने गरेपनि दिउँसो उनीसँग प्रशस्त समय भएका कारण रिसर्चबेश एनजीओमा काम सुरु गरिन्।
त्यसको केही समयमा उनले सरकारी जागीर खाने सोच सहित तयारीमा जुटेकी थिइन्। सोही समयमा तत्कालीन बीमा समितिले ठुलो संख्यामा दरबन्दी खुल्ला गरेको थियो। उनले त्यमा परिक्षा दिइन्। उनको इच्छाअनुसार नाम पनि निस्कियो र तत्कालीन बीमा समितिबाट उनी बीमा क्षेत्र प्रवेश गरिन्।
‘बीमा पनि वित्तीय क्षेत्रको एउटा अंग हो, काम गर्दै जादा तुलनात्मक रूपमा व्यवस्थित र फस्टाउन बाँकी भएको क्षेत्र लाग्यो । साथै, अवसरहरू देखेर यही क्षेत्रमा भविष्य बनाउने सोच बनाए,’ उनी भन्छिन्। बीमा समितिमा प्रवेश गर्दा उनमा बीमा क्षेत्रको अनुभव र ज्ञान सीमित थियो। तर समयसँगै सिक्दै र बुझ्दै जाँदा बीमा क्षेत्रका प्राविधिक विषयहरूमा उनको राम्रो अनुभव विकसित हुँदै गयो। विभिन्न शाखामा काम गर्ने क्रममा निर्मलाले बीमा क्षेत्र तुलनात्माक रुपमा निकै फरक र चुनौतीपूर्ण रहेको अनुभव गरिन्। उनले अफसाइट सुपरिवेक्षण, बीमालेख तथा बीमाङ्कीय मूल्यांकन लगायतका शाखाहरूमा कार्य गरिसकेकी छन्।’

निर्मला प्रवेश गर्दाको बीमा समिति अहिले नेपाल बीमा प्राधिकरणमा परिवर्तन भयो। त्यतिबेला समिति सानो, कर्मचारी थोरै, शाखाहरू पनि निकै कम थियो। तर, यतिबेला प्रादेशकि अफिसहरु बिस्तार भइसकेका छन् भने ग्रामीण भेगकाले समेत बीमाको बारेमा बुझ्न थालेका छन्। प्राधिकरणले समयमा नै नयाँ दरबन्दी खोल्नु र छोटो समयमा आफु सहितका साथीहरू उप निर्देशक हुने अवसर मिल्नुलाई निर्मला करिअरको ‘टर्निङ प्वाइन्ट’ मान्छिन्।
उनले प्राधिकरणमा आएपछि करिअर ग्रोथमा पनि राम्रै फड्को मारेकी छिन्। संस्थाको आकारको वृद्धिसँगै कर्मचारीले अवसर पाउनु स्वभाविक हो। प्रवेश गरेको छोटो समयमा नै करिअर ग्रोथ राम्रो भएका कारण पनि उनी आफ्नो कामप्रति सन्तृष्ट छिन्।निर्मलाको अनुभव अनुसार नियामक निकायमा काम गर्दा बढी जिम्मेवारी हुन्छ। नियामक निकायले बीमक, बीमित, अभिकर्ता, तथा अनय सरोकारवाहरू सबैको सँगसँगै लैजानुपर्ने हुन्छ।
त्यसैले आफुले गरेको कामले व्यक्तिगत भन्दा पनि समग्र क्षेत्रलाई दिएको योगदानबाट मापन गरिने उनको बुझाई छ। ‘मेरो दृष्टिमा, बीमा कम्पनीहरूको समस्यालाई समयमै र व्यावसायिक रूपमा सम्बोधन गर्न सक्नु, स्पष्ट मार्गदर्शन प्रदान गर्नु र नियामकीय प्रक्रियालाई अझ प्रभावकारी र सहज बनाउन सहयोग गर्न सक्नु नै मेरो कामको वास्तविक उपलब्धि हो,’ उनी भन्छिन्।
वित्तीय क्षेत्र जसमा पनि नियामक निकायमा काम गर्ने दृढ इच्छा बोकेर बीमामा जमिरहेकी उनलाई पारदर्शी, सक्षम र सुदृढ बीमा क्षेत्र निर्माणमा योगदान दिन सक्दा नै वास्तविक सन्तुष्टि प्राप्त हुने गरेको बताउँछिन्। वित्तीय क्षेत्र जसमा पनि नियामक निकायमा काम गर्ने दृढ इच्छाका साथ बीमा क्षेत्रमा जमिरहेकी उनी पारदर्शी, सक्षम र सुदृढ बीमा प्रणाली निर्माणमा योगदान दिन पाउनु नै आफ्नो वास्तविक सन्तुष्टि भएको बताउँछिन्। उनका अनुसार बीमा क्षेत्र अब डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ, जहाँ प्रविधिको प्रभावकारी प्रयोग, डेटा–आधारित निर्णय प्रक्रिया र सेवाको सहज पहुँचले बिमा क्षेत्र लाई अझ विश्वसनीय र समावेशी बनाउनेछ। भविष्यमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्दै बीमा क्षेत्रलाई अझ पारदर्शी, आधुनिक र सर्वसुलभ बनाउने दिशामा काम गर्ने उनको स्पष्ट दृष्टि रहेको छ।
सक्षम बन्दै महिला
नेपाली महिलाहरू हरेक कोणमा सक्षम बन्दै गएको प्रशस्त उदाहरण छन्। पछिल्लो चरण महिलाहरू जुनसुकै पेशा वा जिम्मेवारी सम्हाल्न सक्षम बनेको देखिन्छ। नेपालमा पहिला महिला राष्ट्रपति बनिसकेका छन् भने यतिबेला सरकारको नेतृत्व वा प्रधानमन्त्री पनि महिलाले नै गरिरहेकी छिन्। यस्तै, बीमा प्राधिकरणको हालको नेतृत्व ‘अध्यक्ष’ पनि महिला रहेको समयमा महिलालाई सशक्तीकरण गर्दै सहभागिता बढाउनुपर्ने उनको बुझाइ छ।
प्राधिकरणमा काम गर्ने वातावरण महिलामैत्री रहेको उनको अनुभव छ। महिलाको सहभागिता र योगदान हरेक तहमा रहेको उनको भनाई छ। ‘महिलालाई कोटा दिएर समावेशी र शसक्तिकरण हुँदैन, त्यो भन्दा माथि उठेर क्षमता र योग्यताको आधारमा समान अवसर, सुरक्षित कार्य वातावरण, करिअर ग्रोथका अवसरहरू र पारदर्शी नियुक्ति गर्नुपर्छ,’ उनले भनिन्।
निर्मलाका अनुसार बीमा प्राधिकरणमा कार्यरत रहँदा महिला भएकै कारण कुनै विशेष चुनौतीको सामना गर्नुपरेन। बरु सहकर्मीहरूबाट आवश्यक साथ र सहयोग निरन्तर प्राप्त हुँदै आएको उनी बताउँछिन्। साथै सुपरभाइजरहरू तथा उच्च व्यवस्थापनबाट पनि नियमित मार्गदर्शन, सहयोग र निर्देशन पाएको उनको भनाइ छ।
भविष्यमा बीमा क्षेत्रमा महिलाहरूको भूमिका कस्तो रहला
पछिल्लो समय बैंक तथा वित्तीय र बीमा क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ। महिलाको सहभागिता बढाउन महिला, पुरूष सबैलाई योग्यता, क्षमता, र कार्यसम्पादनको आधारमा समान अवसर प्रदान गरिनुपर्ने उनको भनाई छ। यस्तै, पारदर्शी नियुक्ती प्रक्रिया, करिअर वृद्धिका अवसरहरू, सुरक्षित कार्य वातावरण प्रदान गरे महिला कर्मचारीको सहभागिता बढ्छ।

निर्मलाकाअनुसार भविष्यमा बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा बीमकहरूले अझ ग्राहक केन्द्रित सेवा प्रदान गर्नेतर्फ अघि बढ्नेछन्। बीमा सचेतना अभिवृद्धि भई बीमाको विकास र विस्तार हुनेछ। प्राधिकरणले जोखिममा आधारित फ्रेमवर्कहरू कार्यान्वयन गर्दा र नेपाल वित्तीय प्रतिवेदन–१७ लागू हुँदा बीमकको जोखिम व्यवस्थापन प्रणाली र संस्थागत सुशासन अझ मजबुत हुनेछ।
यसका परिणाम स्वरूप नवीन तथा आवश्यकतामुखी बीमालेखहरू बजारमा आउने, लगानीमा विविधीकरण बढ्ने र बीमकको वित्तीय अवस्था बलियो तथा वित्तीय विवरणहरूमा उच्च पारदर्शिता कायम हुनेछ। साथै, बीमा क्षेत्र प्रविधिमैत्री बन्दै तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया र नीति निर्माणलाई प्रवर्द्धन गर्ने उनको बुझाइ छ।



About Us
प्रतिक्रिया