काठमाडौं – चितवनको रत्ननगरबाट सुरु भएको दीपा दाहालको यात्रा आज देशको पुँजी बजार नियामक निकायसम्म आइपुगेको छ। सीमित अवसर, पारिवारिक संकोच र सामाजिक सोचका घेराबीच उनले अठोट, मेहनत र निरन्तरताको बलमा आफ्नो बाटो आफैँ कोरिन्।
सानैदेखि पढाइमा अब्बल दीपा रत्ननगर, टाँडीस्थित एन्डल्स वल्र्ड स्कुलबाट एसईईसम्मको अध्ययन पूरा गरिन्। त्यसपछि सोही क्षेत्रको इन्टरनेसनल कलेजबाट कक्षा १२ उत्तीर्ण गरिन्। अध्ययनसँगै आत्मनिर्भर बन्ने चाहना उनको प्राथमिकता थियो। विद्यालयमै पढाउँदै उनले पहिलो तलब ८ हजार रुपैयाँ हात पारिन्। यो उनका लागि निकै खुसीको विषय थियो। उनको बाल्यकालीन सपना भने फरक थियो, वकिल बन्ने। ‘९/१० कक्षादेखि नै कानुन पढ्ने सोच थियो,’ उनी सम्झिन्छिन्, ‘तर परिस्थितिले साथ दिएन, त्यसैले व्यवस्थापनतर्फ मोडिएँ।’ विषय परिवर्तन भए पनि लक्ष्य परिवर्तन भएन । उनी कलेज टपर बनिन्, आत्मविश्वास थपियो।
उनी भन्छिन्,‘परिस्थितिले कहिलेकाहीँ बाटो मोड्छ, तर यदि लक्ष्य स्पष्ट छ भने गन्तव्य टाढा हुँदैन।’
साथीहरू स्नातक अध्ययनका लागि काठमाडौं जाँदा उनको मन पनि राजधानीतिर तानिन्थ्यो।, तर परिवारका सदस्यहरू उनलाई एक्लै काठमाडौं पठाउन तयार भएनन्। महिला भएकै कारण सुरक्षा र सामाजिक सोचको दबाब थियो। उनले त्यो क्षणमा आफ्नो सपना रोक्नुपर्याे। अन्ततः उनले भरतपुर, नारायणगढस्थित बालकुमारी कलेजबाट स्नातक पूरा गरिन्।
यहीँबाट उनको व्यावसायिक यात्रा थप बलियो बन्यो। बैंकिङ्ग क्षेत्रमा १२ वर्ष बिताउँदै उनले वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र संस्थागत पारदर्शिताबारे गहिरो अनुभव संकलन गरिन्। त्यही अनुभव र प्रतिबद्धताले उनलाई आज नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप कार्यकारी निर्देशकको जिम्मेवारीसम्म पुर्याएकाे छ।
दीपा दाहालको कथा व्यक्तिगत सफलताको कथा होइन; यो संघर्षलाई अवसरमा बदल्ने साहसको कथा हो। चितवनको एउटा सानो शहरबाट उठेर राष्ट्रिय पुँजी बजार नियामक निकायसम्म पुग्नु, उनको यात्रा धेरै युवतीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनी भन्छिन्,‘परिस्थितिले कहिलेकाहीँ बाटो मोड्छ, तर यदि लक्ष्य स्पष्ट छ भने गन्तव्य टाढा हुँदैन।’
करिअरलाई अघि बढाउने हुटहुटीले उनलाई अन्ततः काठमाडौंतर्फ डोर्यायाे। उनी २०६० सालमा शंकरदेव कलेजमा मास्टर्सका लागि भर्ना भईन्। मास्टर्सको पहिलो वर्ष अध्ययन गर्दैगर्दा नेपाल बैंकमा ठुलो संख्यामा कर्मचारी माग भयो। प्रतिस्पर्धात्मक परीक्षामा उनी १७औँ स्थानमा नाम निकाल्न सफल भइन्। २२ वर्षको उमेरमै बैंकिङ्ग क्षेत्रबाट आफ्नो करिअरको सुरुवात गरिन्।
बैंकिङ्ग क्षेत्रमा बितेका १२ वर्षमा उनले निरन्तर प्रगति गरिन्। सेकेन्ड क्लास अफिसरको जिम्मेवारी सम्हालेकी दीपाले आफ्नो दक्षता र प्रतिबद्धताले सहकर्मी र उच्च अधिकारीहरूमा विश्वास जितिन्।

त्यो समय सेबोनले पहिलो पटक सेकेन्ड क्लास अधिकृतका लागि विज्ञापन खोलेको थियो। दीपाले अवसरलाई समातिन् र २०७२ सालमा ३४ वर्षको उमेरमा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रवेश गरिन्। त्यससँगै, २०७५ मा सेबोनले फस्र्ट क्लास अधिकृतका लागि खुला प्रतियोगिता आयोजना गर्याे। उनले प्रतिस्पर्धामा भाग लिएर सफल भइन् र फस्र्ट क्लास अफिसरमा प्रमोट हुँदै आज उप कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनले यस क्षेत्रमा प्रवेश गर्दा सोचेर, बुझेर नै आएको बताइन्।
‘मलाई यस क्षेत्रमा आईसकेपछि अझैपनि करिअर दिगो विकास, मेरो आफ्नै ज्ञान र सेबोनले दिएको अवसरले मेरो दायरा अझै बढ्यो, करिअरबाट म सन्तुष्ट छु।’ यससँगै सेबोनमा उनले १० वर्षको सेवा समेत पुरा गरिसकेकी छिन्।
उनको आफ्ना अध्ययन फाइनान्स सेक्टरसँग सम्बन्धित नै भएका कारण सेबोनमा प्रवेश गर्न सजिलो थियो। नेपाल बैंकमा काम गर्दा बल्ल पुँजी बजार फस्टाउन थालेको उनी बताउँछिन्। पुँजी बजार क्षेत्रमा आउन अरू मानिसहरूले देखाएको रुचि, आईपीओको लागि बसेका लाइन, देख्दा उनलाई पुँजी बजारप्रति चाँसो बढेको बताउँछिन्।
उनी भन्छिन् ‘भोलीका दिनमा मलाई जागिर मात्रै खानु छैन, म पनि यस क्षेत्रमा जोडिनु छ, मेरो परिवार पनि समावेश गर्नुछ, अझै मैले क्यापिटल मार्केटको सेक्टरमा केही योगदान पो दिन सक्छु कि भन्ने लागेर मलाई पुँजी बजारमा आउन प्रेरित गर्याे।’ उनले यस क्षेत्रमा प्रवेश गर्दा महिलाको सहभागिता एकदमै कम थियो। जसले गर्दा पनि उनलाई अहिले नै म यस क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने लागेर आज उनी पुँजी बजार क्षेत्रमा अग्रस्थानमा छिन्।
महिलाको चुनौती
त्यो समय बैंक तथा वित्तीय क्षेत्र र पुँजी बजारमा महिलाको सहभागिता अत्यन्त न्यून थियो। अवस्था आज पनि धेरै फरक भइसकेको छैन। अहिलेसम्म कुनै पनि नियामक निकायमा महिला चेयरम्यान छैनन्। उनी भन्छिन्, ‘प्रत्यक्ष भेदभाव वा दमनको अनुभव नगरे पनि संरचनागत रूपमा महिलाको उपस्थिति नै कम हुनु ठुलो चुनौती हो।’
त्यतिबेला ५० वटा ब्रोकर कम्पनीमध्ये जम्मा दुईजना मात्रै महिला ब्रोकर थिए। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पनि महिला कर्मचारीको संख्या न्यून थियो। सूचीकरण भएका कम्पनीहरूमा उच्च पदमा महिलाको प्रतिनिधित्व झन् विरलै देखिन्थ्यो।

अहिले संख्या केही बढेपनि अवस्था सन्तोषजनक छैन। ९० वटा ब्रोकर कम्पनी सञ्चालनमा हुँदासमेत महिलाको उपस्थिति सीमित छ। महिला लगानीकर्ताको हिस्सा करिब ३५-४० प्रतिशतमा हाराहारीमा सीमित छ। आर्थिक क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दो क्रममा भए पनि अझै उल्लेखनीय वृद्धि नदेखिएको उनको भनाइ छ।
महिलाप्रति विश्वासको कमी
‘महिलालाई यस क्षेत्रमा आउन पर्याप्त विश्वास नगरेको हो कि जस्तो लाग्छ,’ उनी भन्छिन्। रेडियो–टेलिभिजन कार्यक्रमहरूमा प्रतिनिधित्वका अवसर पाइन्छ। तर,आफूले अहिलेसम्म त्यस्ता कार्यक्रममा सहभागिता जनाउने अवसर नपाएको उनी बताउँछिन्।
उनका अनुसार चुनौतीपूर्ण काम वा समिति गठन गर्दा पनि महिलाको उपस्थिति कमै देखिन्छ। ‘यो सोच अझै परिवर्तन हुन जरुरी छ,’ उनी जोड दिन्छिन्। उनका अनुसार आजसम्म पनि कामका अवसर र व्यवहारमा महिलापुरुषबीच समानता पूर्ण रूपमा स्थापित भइसकेको छैन।

योग्य महिलालाई नेतृत्व तहमा पुर्याउन सके मात्रै संस्थागत उत्पादकत्व र प्रभावकारिता बढ्ने उनको बुझाइ छ। ‘महिलाले पनि सक्छन् भन्ने वातावरण निर्माण हुनुपर्छ,’ उनी भन्छिन्। बोर्डका सदस्यहरूमा अनिवार्य महिला प्रतिनिधित्व हुनुपर्ने र अध्यक्ष छनोट प्रक्रियामा पनि महिला उम्मेदवारलाई प्रोत्साहन गरिनुपर्ने उनको आग्रह छ।
अविस्मरणीय क्षणहरूको यात्रा
बैंकिङ्ग क्षेत्रबाट सेबोनको उप कार्यकारी निर्देशकसम्मको यात्रा उनका लागि अनेक सम्झनायोग्य क्षणले भरिएको छ। बैंकिङ्ग क्षेत्रमा खुला प्रतिस्पर्धाबाट सातौँ स्थानमा नाम निकाल्दा पाएको आत्मविश्वास, त्यही क्षेत्रमा काम गर्दै कमाएको अनुभव र पहिचान उनका लागि गर्वका विषय हुन्।
नौ महिनाकी गर्भवती अवस्थामा सेबोनमा नाम निकालेर प्रवेश गर्ने उनी एक्ली महिला थिइन्। त्यो क्षण उनका लागि साहस र उपलब्धिको प्रतीक बन्यो। त्यसैगरी हार्वर्ड युनिभर्सिटीले आयोजना गरेको कार्यक्रममा विश्वव्यापी छात्रवृत्तिमा नेपालबाट एक्लै छनोट हुनु पनि उनका लागि अविस्मरणीय उपलब्धि रह्यो।
‘मैले जहाँसम्म पुगेँ, जे गरेँ, खुला प्रतिस्पर्धाबाटै गरेँ,’ उनी सम्झन्छिन्। मेहनत भने असाध्यै गर्नुपर्याे। सानो बच्चा छेउमै रोइरहँदा पनि उनी राति सुतिसकेपछि पढाइमा जुट्थिन्। अहिले सम्झँदा त्यो समय आफूले कसरी पार गरेँ होला जस्तो लाग्छ।
उनको सफल यात्रामा परिवार र श्रीमानकाे साथ महत्त्वपूर्ण रह्यो। श्रीमान् स्वयं बैंकिङ्ग क्षेत्रमा भएकाले विशेष गरी मर्जरसम्बन्धी विषयमा सिक्ने अवसर मिल्यो। ‘मेरो मिहिनेत र लगाव त थियो नै, तर परिवार र श्रीमानको साथ बिना करिअर अगाडि बढाउन सम्भव थिएन,’ उनी भन्छिन्।
नौ महिनाकी गर्भवती अवस्थामा सेबोनमा नाम निकालेर प्रवेश गर्ने उनी एक्ली महिला थिइन्। त्यो क्षण उनका लागि साहस र उपलब्धिको प्रतीक बन्यो।
उनको विश्वासमा अन्य क्षेत्रको तुलनामा शेयर बजार महिलाका लागि अझ खुला र सम्भावनायुक्त क्षेत्र हो। ‘पुँजी बजारमा जोडिन एउटै बाटो छैन,’ उनी भन्छिन्। आईपीओमार्फत सुरु गरेर दोस्रो बजारमा प्रवेश गर्न सकिन्छ, सानो पुँजीबाट पनि लगानी गर्न सकिन्छ। सामान्य महिलाले पनि थोरै बचतबाट आर्थिक लाभ लिन सक्ने क्षेत्र भएकाले यो महिलामैत्री हुन सक्छ।
‘पुँजी बजारमा महिलाको सहभागिता बढाउन जरुरी छ’
सरकारी निकायदेखि बैंक तथा वित्तीय क्षेत्रसम्म महिलाको उपस्थिति अझै न्यून रहेको उनी बताउँछिन्। सक्षम र योग्य महिलाको पहिचान गरी नेतृत्व तहमा पुर्याउन सकेमात्र सन्तुलित विकास सम्भव हुने उनको विश्वास छ।

महिलालाई अवसर दिन सकियो भने उनी आफ्नो लागि मात्रै होइन, परिवार र समाजलाई पनि सँगै अघि बढाउन सक्छिन् भन्ने उनको विश्वास छ। महिलामैत्री नीति, प्रोत्साहन र नियामक निकायको संवेदनशीलता अत्यावश्यक रहेको उनी औँल्याउँछिन्।
उनी भन्छिन्,‘अब महिलाहरू समाज र परिवारको संकोचबाट बाहिर निस्केर आफ्नै क्षमतामा विश्वास गर्ने समय आएको छ। महिलाले गर्न नसक्ने भन्ने केही छैन।’ सकारात्मक कार्य वातावरण, परिवारको साथ र आफ्नो क्षमता पहिचान गर्न सके जुनसुकै स्थानमा पुग्न सकिने उनको बुझाइ छ।



About Us
प्रतिक्रिया