गैह्रबैंकिङ्ग सम्पत्ति बढेको बढ्यै, एक महिनामा थपियो ५२ करोड


काठमाडौं – बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रभावित हुँदा गैह्रबैंकिङ्ग सम्पत्ति बढ्ने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले बैंक तथा वित्तीय संस्थाको गैह्र बैंकिङ्ग सम्पत्ति बढिरहेको देखाएको हो। तथ्यांकअनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकको गैह्र बैंकिङ्ग सम्पत्ति ४३ अर्ब ५७ करोड छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूको गैह्र बैंकिङ्ग सम्पत्ति ३४ अर्ब ८६ करोड थियो। जुन चालु आर्थिक वर्षको पुस मसान्तको तुलनामा ८ अर्ब बढी हो।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बैंकहरूले कर्जा लगानीमा सावधानी अपनाउन नसक्दा गैह्रबैंकिङ्ग सम्पत्ति थुप्रिने क्रम नरोकिएको बताउँछन्। उनले भने, ‘कर्जा लगानी गर्दा बैंकहरूले अपनाउनुपर्ने सावधानी नअपनाउँदा यतिबेला बैंकहरूमा गैह्र बैंकिङ्ग सम्पत्ति बढिरहेको हो।’

०८० को पुस मसान्तसम्म यस्तो सम्पत्ति १९ अर्ब ८७ करोड थियो। कर्जा असुली हुन नसक्दा ऋणीले धितो राखेका सम्पत्ति लिलाम गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले गैह्रबैंकिङ्ग सम्पत्तिको रूपमा राख्छन्। कर्जा असुली नहुने र गैह्रबैंकिङ्ग सम्पत्ति पनि लिलाम हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूले यसको व्यवस्थापन गर्न सकिरहेका छैनन्। गैह्रबैंकिङ्ग सम्पत्तिमा मुख्यतः भवन, जग्गा, सवारी साधनलगायतका सम्पत्ति पर्छन्।

कुनको कति ?
पुस मसान्तसम्ममा हिमालयन बैंकको ६ अर्ब १३ करोड, ग्लोबल आईएमई बैंकको ५ अर्ब ९९ करोड, प्राइम कमर्सियल बैंकको ४ अर्ब ४१ करोड, एनआईसी एसिया बैंकको ४ अर्ब ३१ करोड गैह्र बैंकिङ्ग सम्पत्ति छ। यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८७ करोड, नबिल बैंकको ३ अर्ब ४१ करोड, कुमारी बैंकको २ अर्ब ४९ करोड, लक्ष्मी सनराइज बैंकको २ अर्ब २४ करोड गैह्र बैंकिङ्ग सम्पत्ति छ। यसैगरी, एनएमबी बैंकको १ अर्ब ८३ करोड, प्रभु बैंकको १ अर्ब ७५ करोड, कृषि विकास बैंकको १ अर्ब ३३ करोड, सिटिजन्स बैंकको १ अर्ब २७ करोड, नेपाल एसबीआई बैंकको १ अर्ब २ करोड र सानिमा बैंकको १ अर्ब १ करोड बराबरको गैह्र बैंकिङ्ग सम्पत्ति छ। सिद्धार्थ बैंकमा ७७ करोड, माछापुच्छ्रे बैंकमा ६० करोड, एभरेष्ट बैंकमा ५१ करोड, राष्ट्रिय वाणिज्य बैंकको २८ करोड र नेपाल बैंकमा २६ करोड रुपैयाँ बराबरको गैह्र बैंकिङ्ग सम्पत्ति थुप्रिएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैह्र बैंकिङ्ग सम्पत्ति शून्य छ।

एक महिनामा थपियो झण्डै ५२ करोड
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४३ अर्ब ५ करोड रहेको थियो। दोस्रो त्रैमासमा बैंकहरूले रिकभरी सोचे जति गर्न नसक्दा खराब कर्जासँगै गैह्र बैंकिङ्ग सम्पत्ति पनि बढेको हो। बैंकहरूको खराब कर्जा बढ्दै जाँदा गैह्र बैंकिङ्ग सम्पत्ति पनि बढेको हो। मंसिर महिनामा ४३ अर्ब ५ करोड रहेको गैह्र बैंकिङ्ग सम्पत्ति पुसमा ४३ अर्ब ५७ करोड पुगेको छ। राष्ट्र बैंक कै यस तथ्यांकले बैंकहरूको गैह्र बैंकिङ्ग सम्पत्ति एक महिनाको अवधिमा ५२ करोड बढेको देखाउँछ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा असुल हुन नसक्दा र धितो लिलामी प्रक्रियामा पनि बिक्री नभएपछि बैंकले उक्त धितो सकारेर आफ्नो स्वामित्वमा लिँदा गैह्र बैंकिङ्ग सम्पत्ति बढ्छ। बैंकहरू सकारेको सम्पत्तिले धितो बजारमा ग्राहक नपाउँदा पनि गैह्र बैंकिङ्ग सम्पत्ति बढ्दै गइरहेको छ।

घर जग्गा (रियल इस्टेट) बजारमा आएको मन्दीका कारण बैंकले सकारेको सम्पत्ति बेच्न सकेको छैन। जसका कारण पनि गैह्र बैंकिङ्ग सम्पत्ति लगातार रुपमा बढिरहेको छ। अर्थतन्त्रको बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक सूचक भने कमजोर नै छ। देशको राजनीतिक अस्थिरताका कारण पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन सकेको छैन। यसले बैंकहरूको गैह्र बैंकिङ्ग सम्पत्ति अझ बढ्ने देखिन्छ।