चर्चित टिकटकर तुलसाविरुद्ध ठगी र आपराधिक लाभ कसुर मुद्दा 


काठमाडौं –  चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी ठगी प्रकरणमा मुछिएकी छन्। उनी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी हुन्। यी दुई घटना प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको छ। उनीविरुद्ध २०८२ साउन २२ मा ठगी र आपराधिक लाभ (एक्सटर्सन) समेतको कसुरमा कुमार चिमोरियाले उजुरी  दर्ता गरेको थिए।

साे उजुरीमा जिल्ला प्रहरी परिसर ललितपुरमा अनुसन्धान प्रक्रिया अगाडि बढेको छ। त्यस्तै, २०८२ कात्तिक २० मा प्रहरीको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पनि तुलसाविरुद्ध २०८१ फागुन १९ मा उजुरी दर्ता भएको खुल्न आएको छ। 

सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धान गर्दा सम्बद्ध कसूरबाट प्राप्त गरेको सम्पत्ति रुपान्तरण, हस्तान्तरण लगायत ऐनको दफा ३ उपदफा (१)को देहाय खण्ड (क) )ख) (ग) ले निषेधित क्रियाकलापहरुको विद्यमानता समेत बिश्लेषण गरी कसूर हुने तथ्यपरक आधार एवं प्रमाणहरु समेत संकलन गर्न विभागले पठाईएको उजुरीमा  सम्पत्ति सुद्धीकरणमा  अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। 

उनीमाथि हाल ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध कानून बमोजिम अनुसन्धान भइरहेको विषय उपर अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमाअनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ सजग रहँदै सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जवाफदेहिता वहन गर्ने मानवीय कर्तव्यको पालना गर्न प्रहरी आग्रह गरेको छ। 

साथै, कानून बमोजिम भइरहेको अनुसन्धानमा कानुनबमोजिम व्यवस्था भएका निकायमा उपस्थित भई आफ्ना भनाइहरू राख्न जिल्ला प्रहरी परिसर ललितपुरले अनुरोध गरेकाे छ। साथै, तुलसाका विषयलाई लिएर भइरहेको अनुसन्धान सन्दर्भमा अनुसन्धानरत विषय उपर सामाजिक सञ्जालमा भएका भ्रामक सूचनाहरू सम्प्रेषण प्रति जिल्ला प्रहरी परिसरको ध्यानाकर्षण भएको बताएकाे छ।