गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान गरिने भएको छ। नेपाल वायु सेवा निगमले बिहीबार हुँदै आएको हवाई उडान कटौती गरेको हो।
नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। अब आइतबार, मंगलबार र शनिबारमात्र उडान हुने रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।
नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए। वर्षात, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ।
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौंदेखि बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ। निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि ७ हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको छ। रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानमा मात्र उडान हुने गर्दछ।
पछिल्लो समयमा हवाई सेवा लिने यात्रुको चाप बढ्दै गएको छ। तर, यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यात्रुहरू समस्यामा परेका छन्। जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरु गरेको थियो।



About Us
प्रतिक्रिया