पाँच वर्षमा तेब्बरले महँगियो सुन, किन बढिरहेको छ पहेलो धातुको भाउ ?


काठमाडौं – पछिल्लो पाँच वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिकरुपमा बढेको छ। अन्तर्राष्ट्रिय तनाव र अ‍ेमेरिकी डलरको मजबुतीले सुनको मूल्यमा निरन्तर वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारको वृद्धिको असर नेपाली बजारमा पनि परेको छ।

नेपाली बजारमा पछिल्लो पाँच वर्षमा सुनको मूल्य करिब तेब्बरले बढेर ३ लाख रुपैयाँ भन्दा माथि पुगेको छ। ०७८ माघ २८ सम्ममा प्रतितोला ९४ हजार रुपैयाँ भएको सुनको मूल्य २०८२ को माघ २८ गते १ लाख ३ हजारु रुपैयाँ पुगेको थियो। त्यस्तै, २०८१ माघ २८ गते सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार रुपैयाँ रहेकोमा २०८२ को सोही दिन सुन साढे २ लाख रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको छ।


किन बढ्यो मूल्य?
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अमेरिका र चीनबिचको व्यापारिक युद्धका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको बताए। उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय बजारमा आएको उथलपुथलले एउटा दीर्घकालीन रुपमा लगानी गर्ने क्षेत्र छैन भन्ने सन्देश दिएको छ। व्यापार व्यवसाय अहिले राम्रो छैन। अर्थतन्त्रको अहम भूमिका खेल्ने शेयर मार्केटको अवस्था पनि राम्रो छैन। जसले गर्दा लगानीकर्ताहरूले दीर्घकालीन लगानीको क्षेत्र खोजी गर्न थाले। अन्य क्षेत्र भरपर्दाे नदेखेपछि सुनतिर नै लगानी गर्न थाले।’

अमेरिकी डलर महँगो हुँदै गइरहेको छ। जसको कारणले पनि सुनको मूल्य बढेको उनको बुझाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेला बेलामा ल्याएको करको नीतिको कारणले गर्दा बजारमा उतारचढाव आएको र संसारका विभिन्न केन्द्रीय बैंकले सुनको होल्डिङ बढाएकाले पनि सुनको मूल्य बढेको शाक्यको भनाइ छ। रुस र युक्रेनबीचको तनावलेसमेत आर्थिक क्षेत्र तहसनहस बनाएको बेला लगानीकर्ताले संसारभर सुरक्षित लगानी मानिने सुनमा लगानी बढाएका हुन्।

अन्तर्राष्ट्रिय बजारको अवस्था
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले लगातार रेकर्ड बनाइरहेको छ। पछिल्लो ५ वर्षमा सबैभन्दा बढी सुन किन्ने देशहरूमा चीन, ब्राजिल, पोल्याण्ड, भारत, टर्की, रुस, बेलायत, अमेरिका जस्ता देशहरू छन्। पछिल्लो पाँच वर्षमा प्रति औंस ५ हजार बढी सुनको मूल्य पुगेको छ। सन् २०२१ फ्रेब्ररी १० मा १८४२.२४ अमेरिकी डलर प्रति औंस भएको सुनको मूल्य २०२२ को सोही महिनामा १८९९ अमेरिकी डलर प्रति औंस पुगेको थियो। त्यस्तै, २०२३ फ्रेब्रुवरी १८६२.४४ अमेरिकी डलर प्रति औंसमा झरेको थियो। २०२४ फ्रेब्ररी १४ मा सुन प्रति औंस १९९३.८७ पुगेको थियो। त्यस्तै, २०२५ फ्रेब्रुवरी १३ मा सुन प्रति औंस २९१६.६४ पुगेको थियो। त्यस्तै, अहिले २०२६ को फ्रेब्रुरी १५ मा सुन प्रति औंस ५०४१.८० पुगिसकेको छ।

मूल्यवृद्धिमा चीनको भूमिका
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यसरी बढ्नुको एउटा कारण चीनलाई समेत लिन सकिन्छ। अहिले चीन विश्वकै सबभन्दा ठूलो सुन उपभोग गर्ने देशमध्ये एक हो। चीनमा सुन लगानीको माग धेरै बढेको छ। चीनको केन्द्रिय बैंकले लामो समयदेखि सुन किनिरहेको छ। ब्लूमबर्गका अनुसार गत महिना केन्द्रिय बैंकले ४० हजार ट्रोय औंस सुन थपेको छ।

पीबीओसीले सन् २०२४ नोभेम्बरबाट सुन खरिदको पछिल्लो चरण सुरु गरेको थियो। वल्र्ड गोल्ड काउन्सिलको तथ्यांकअनुसार सन् २०२५ को अन्तिम त्रैमासमा विश्वका केन्द्रीय बैंकहरूको सुन खरिद बढेको थियो। वार्षिक कुल खरिद ८६० टन नाघेको छ। यद्यपि अघिल्ला तीन वर्षमा वार्षिक १ हजार टनभन्दा बढी खरिद भएको तुलनामा यो केही कम हो।