पाँच वर्षभित्रमा ४ खर्बको आइटी तथा डिजिटल सेवा निर्यात सम्भव छ: सभापति थापा


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू प्रधानमन्त्री बनेपछि आईटीको क्षेत्रमा गर्ने कामको चर्चा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूले आईटीको क्षेत्रमा गर्न चाहेको परिवर्तनकाे चर्चा गरेका हुन्।

सभापति थापाले भने,’मैले केही समयअघि कीर्तिपुरको एउटा सभामा यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर युवाहरूलाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ भनेको थिएँ।’

साथै, थापाले भिडियाेमा भनेका छन्,‘त्यतिबेला यो हाँसोको विषय बन्यो, निकै ट्रोल पनि भयो। तर, मैले त्यतिबेला हावादारी कुरा गरेको थिइँन। त्यो कुनै उडन्ते सपनाको कुरा पनि होइन। गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो।’

उनले आईटीको क्षेत्रमा आफूले गर्न चाहेको कामका केही योजना पनि बताएका छन्। उनले नेपालमा आईटीको क्षेत्रमा केही काम भएपनि त्यो अपर्याप्त भएको पनि बताएका छन्। साथै, सभापति थापाले पाँच वर्षभित्रमा करिब ४ खर्बको आइटी तथा डिजिटल सेवा निर्यात सम्भव रहेकाे पनि बताए।