बैंकमा जागीर खाने सोच्दै हुनुहुन्छ ? यी तीन सरकारी बैंकले मागेका छन् कर्मचारी


काठमाडौं – सरकारी स्वामित्वमा सञ्चालनमा रहेका ३ वाणिज्य बैंकहरुले कर्मचारी माग गरेका छन्। सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकले दरखास्त आह्वान गर्दै भारी सङ्ख्यामा कर्मचारी माग गरेका हुन्।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले ६२ जना कर्मचारी माग गरेको छ। बैंकले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक पदका लागि आवेदन खुलाएको हो। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। बैंकमा काम गर्न चाहनेको उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरेर फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

नेपाल बैंकमा ५८ जनालाई रोजगारीको अवसर

नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायक पदमा जम्मा ५८ जनाका लागि आवेदन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

कृषि विकास बैंकमा २४२ जनाका लागि राेजगारी

कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ। बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।