महानिरीक्षक कार्कीद्वारा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना सङ्कलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रवार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन्।

प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ–आफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पादन गर्न निर्देशन दिए। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना सङ्कलनलाई उच्च प्राथमिकतामा राखी भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उनले विशेष जोड दिए। 

निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिबद्ध भई आ–आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिए। निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरू प्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउँदै निर्वाचनको समयमा थप मद्दतको रूपमा खटिने हरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले आग्रह गरे। 

प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना सङ्कलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताए। आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त परिचालनमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने उनले बताए। सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशन दिए।