एसबीआई बैंक लुटपाट घटनामा संलग्न प्रतिवादी पूर्वपक्षका लागि कारागार चलान 


काठमाडौं – गत पुस २९ गते सिन्धुलीको  घ्याङ्लेख गाउँपालिका–२ हायुटार स्थित नेपाल एसबीआई बैंक घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ। बैंक लुटपाटमा संलग्न सिन्धुली छविलाल स्याङतान,  ज्ञान बहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर, र मिलन गिरीलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै, परिवर्तित जिल्लाका एक बालकलाई मुद्दा पुर्पक्षका लागी बालसुधार गृह राख्न पठाइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सिन्धुली जिल्ला अदालतको २७ गतेको आदेशले मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सिन्धुलीमा राख्न पठाइएको हो। उनीहरुले एसबीआई बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटेका थिए। जसमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको थियो। 

उनीहरुले एसबीआई बैंक शाखामा ५–६ जनाको समूहले प्रवेश गरी सुरक्षा गार्ड र बैंक कर्मचारीलाई नियन्त्रणमा लिँदै खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको थियो। त्यसपछि उनीहरूले भल्ट खोली नगद रकम लुटेर फरार भएका थिए।