गोदावरीका करार इन्जिनियरविरुद्ध साढे १ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोप


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरमा करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्टले आफ्नो वैध आम्दानीभन्दा अत्यधिक सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार उनी २०७६ साल फागुन १ गतेदेखि गोदावरी नगरपालिकामा करार इन्जिनियरका रूपमा नियुक्त भई कार्यरत रहेका थिए। उजुरीको आधारमा गरिएको अनुसन्धान क्रममा २०७६ फागुन १ देखि २०८१ साउन १४ सम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको तथा एकाघर परिवारको आम्दानी र खर्चको विवरण विश्लेषण गरिएको थियो।

अनुसन्धानबाट सो अवधिमा बिष्टले तलब, भत्ता, बचत, श्रीमतीतर्फको आम्दानी, ऋण सापटी, शेयर बिक्रीलगायत कानुनी स्रोतबाट जम्मा १ करोड २७ लाख  आम्दानी गरेको देखिएको आयोगले जनाएको छ। सोही अवधिमाले जग्गा खरिद, घर निर्माण, शेयर लगानी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा–ब्याज भुक्तानी, बीमा प्रिमियम, छोरा पढाइ खर्च तथा विभिन्न बैंक खातामा रहेको मौज्दातसमेत गरी उनले ३ करोड २४ लाख खर्च तथा लगानी गरेको पुष्टि भएको छ। 

यसरी कुल वैध आम्दानीभन्दा १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बढी खर्च देखिएको र उक्त खर्च तथा सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगले उनी र उनका बाबु सुदर्शन बिष्टसमेतलाई प्रतिवादी बनाई बिगो बराबरको जरिवाना र कैद सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।