काठमाडौं – वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने प्रलोभन देखाई ६८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १० स्थित ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक बद्री सिलवाल रहेका छन्। सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनी सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई २१ लाख ७० हजार रकम जम्मा गर्न लगाई उनीहरूलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भन्दे झुलाउँदै आएका थिए।
त्यसै क्रममा सिलवालले उक्त कन्सल्टेन्सी बन्द गरी फरार भएपछि मात्र ती विद्यार्थीहरूले ठगी गरेको भने खुल्न आएको थियो । त्यसपछि उनीहरूले प्रहरी वृत्त लैनचौरमा जाहेरी दिएका थिए। उक्त जाहेरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले सिलवाललाई पक्राउ गरी थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साथै, हालसम्म उनले आफ्नो परिचय केदार प्रसाद सिलवाल हो भनी अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाउने भन्दै केदार प्रसाद सिलवालको नाममा १२ लाख ४० हजारको चेक काट्न लगाई भुक्तानी लिई ठगी गरेको खुल्न आएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन्।
त्यस्तै, सिलवालले चितवनको भरतपुर उपमहानगरपालिका –१० मा पनि ह्यापी एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरी ४ जनालाई सर्बिया देशमा कामदार भिसामा पठाउने भन्दै २१ लाख ९० हजार रकम लिई सम्पर्क विहीन भएको भनी उजुरी प्राप्त भएको उनले बताए। त्यहाँबाट सिलवालले स्पेन पठाउँछु भन्दै अन्य तिन जनाबाट समेत १२ लाख रकम लिई ठगी गरेको भनी पीडित सम्पर्कमा आएको उनी बताउँछन्।



About Us
प्रतिक्रिया