पर्यटन विधेयक राष्ट्रियसभाबाट पारित


काठमाडौं – राष्ट्रियसभाले पर्यटन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पेस गरेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव  सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा मन्त्री सिन्हाले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए । यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका संयोकको यही १९ माघमा ९० वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही २८ माघ दिउँसो १ः१५ बजे बस्नेछ ।