काठमाडौं – पदयात्रा र पर्वतारोहणमा ‘फेक रेस्क्यु’ मा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतका मोदी गाउँपालिका– ०२ का गीर्वाणराज तिमिल्सिना रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीको टोलीले उनलाई पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैह्र कानूनी रूपमा ठगी गरेकोले पक्राउ गरेको हो।
उनले स्वास्थ्यमा समस्या र प्राकृतिक विपद् आई पर्दा पर्यटकहरूलाई गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यू फ्लाइट सञ्चालन गर्ने कम्पनीहरू माउन्टेन रेस्क्यु सर्भिस , एभरेस्ट अनुभव र सहायता र नेपाल चार्टर सर्भिसले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी गराई यात्रु र कार्गो मेनिफेस्टको ब्यहोरा फरक र किर्ते गरी सोही अनुसारको बिल तयार गर्ने गरेको खुल्न आएको छ।
उनले उद्धार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा बीमा नीतिमा उल्लेख भएको सर्त बमोजिम काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिलका कागजातहरू भर्ना र डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट) तयार गराई उद्धार गरिएको सीआईबीले जनाएको छ।
यस घटनासँग सम्बन्धित भ्रामक सूचना ‘नेपाललाई पर्यटकहरूका लागि निषेधित गन्तव्य बनाउनुहोस्’, ‘विश्वको छानामा ठगी’, ‘नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई सुरक्षा प्रदान गर्न बन्द गर्नुहोस्’ जस्ता लगायत शीर्षकमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण हुँदा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र अन्तर्राष्ट्रिय छविमा गम्भीर आँच पुगेको सीआईबीले जनाएको छ।
नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकोले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्र हित प्रतिकूल काम गर्न नहुने समेतका कसुरहरूमा संलग्न निम्न हस्पिटलको सञ्चालकलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया