शेयर बजारमा भित्रिँदै बैंकमा थुप्रिएको लगानीयोग्य रकम, मंसिरसम्म १ खर्ब २५ अर्ब ‘मार्जिन लोन’ प्रवाह


काठमाडौं – बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको लगानीयोग्य रकम शेयर बजारतर्फ आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा हाल १० खर्ब रुपैयाँभन्दा बढी कर्जायोग्य रकम थुप्रिएर बसेको छ। यसैबीच, चालु आर्थिक वर्ष (आव) को मंसिर महिनासम्मको अवधिमा १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह भएको छ। बैंकहरूबाट शेयर धितोमा प्रवाह भएको यस कर्जाले पछिल्लो समय शेयर बजारमा चहलपहल बढाएको देखिन्छ। यसको प्रभावले शेयर कारोबार समेत बढेको छ। 

अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ। शेयर बजारमा बैंकबाट रकम आउन थालेपछि बजारमा कारोबार रकम बढ्न थालेको देखिन्छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर कर्जाको ‘क्याप’ हटाएको थियो। २५ करोडको शेयर धितो कर्जा हटेपछि बैंकबाट धमाधम रकम शेयर बजारमा जान थालेको हो। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकअनुसार मंसिरसम्म १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

जसकारण, दुई साता अघि दैनिक ५/७ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले बढेको छ। तर, यसरी कारोबार बढ्नुको मुख्य कारण निर्वाचनको माहौल पनि हो। यतिबेला देश निर्वाचनको तयारीमा रहेकाले लगानीकर्ताहरू निर्वाचनपछि स्थिर र नयाँ सरकार बन्ने अपेक्षासहित बजारमा लगानी बढाइरहेका छन्। जसले शेयर बजारमा बैंकबाट पैसा ल्याउनुका साथै कारोबार रकम समेत बढ्दो अवस्थामा छ।

बढ्यो ‘मार्जिन लोन’, कहिले कति ?
नेपाल राष्ट्र बैंकले २५ करोड सिमा हटेपछि शेयर धितो कर्जा बढ्न थालेको छ। तथ्यांकअनुसार २०८० को मंसिरसम्मको अवधिमा ६२ अर्ब रुपैयाँ मात्रै मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो। यस्तै, २०८१ को मंसिरसम्मको अवधिमा ८६ अर्ब ३३ करोड रुपैयाँ धितो कर्जा प्रवाह भएको थियो। यो, अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ अर्बले बढी हो।

यस्तै, २०८२ को असार मसान्तसम्मको अवधिमा शेयर धितो कर्जा प्रवाह १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको थियो। जुन, सोही वर्षको मंसिरको तुलनामा ३० अर्बले बढी हो। यसबाहेक, २०८२ को मंसिरसम्मको अवधिमा यो कर्जा प्रवाह झनै बढेर १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। जुन, २०८० मंसिरको तुलनामा १०१ प्रतिशतले बढी हो।

किन बढ्दैछ मार्जिन प्रकृतिका कर्जा ?
नेपाल राष्ट्र बैंकले मंसिरसम्मको मात्रै तथ्यांक सार्वजनिक गरे पनि लगानीकर्ताहरू भने माघसम्ममा १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको बताउँछन्। नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार मार्जिन प्रकृतिको कर्जा बढ्नुको मुख्य कारण राष्ट्र बैंकको बजारमैत्री मौद्रिक नीतिलाई मान्छन्। राष्ट्र बैंकले २५ करोडको मार्जिन कर्जाको सीमालाई हटाई दिँदा यसबाट फाइदा हुने देखेपछि लगानीकर्ताले बैंकबाट लोन लिएर शेयर बजारमा लगानी गर्न थालेको उनको भनाई छ।

‘अहिले राष्ट्र बैंकले शेयर बजारका लागि धेरै हदसम्म सहजता गरिदिएका छन्, त्यस्तै ब्याजदर अहिले ७ प्रतिशत भन्दा कम छ’ उनले भने, ‘यही कारण, माघसम्मको अवधिमा डेढ खर्ब रुपैयाँभन्दा बढी मार्जिनन प्रकृतिका कर्जा प्रवाह भएको छ।’ सस्तो ब्याजदर र नीतिगत सहजताका कारण बैंकमा थुप्रिएको रकम शेयर बजारतर्फ ओइरिएको उनको भनाई छ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे समेत ब्याजदर सस्तो भएको अवस्थामा यसलाई लगानीकर्ताले एउटा अवसरको रूपमा लिएको बताउँछन्। पाण्डेले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बैंकमा पनि प्रशस्त तरलता भएको कारण बैंकहरुले समेत शेयर बजारलाई भरपर्दो लगानीको माध्यम बनाएको बताए। ‘लगानीका अन्य क्षेत्रहरू साँघुरो हुँदै गइरहेको अवस्थामा सबैभन्दा छिटो प्रतिफल दिने क्षेत्र शेयर बजार भएकाले लगानीकर्ताहरूको रुचि शेयर बजारतर्फ बढेको हो,’ उनले थपे।

शेयर लगानीकर्ता गंगा सुब्बा पनि मार्जिन कर्जा बढ्दै जानुका मुख्य कारण बैंक तथा वित्तीय संस्थाहरूमा धेरै तरलता भएको र ब्याजदर पनि एकल अंकमा आएकाले लगानीकर्ताहरू मार्जिन कर्जाप्रति आकर्षित भएको बताउँछिन्। नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा लगाएको सीमा खारेज गर्दा लगानीकर्तालाई धेरै रकमको ऋण लिन र छोटो समयमा नाफा कमाउने आशाले बैंकबाट लोन लिने गरेको सुब्बाले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताइन्। साथै, ‘देशमा चुनावको माहौल बन्दै गएकाले आगामी दिनमा राजनीतिक स्थिरता आउने सोचले पनि लगानीकर्ताको यसतिर आकर्षण बढेको हुन सक्ने उनको आँकलन छ।

मंसिरसम्म कारोबार बढ्दाको प्रभाव ‘लाभ कर’मा
यो वर्ष २०८२ को मंसिरसम्मको अवधिमा शेयर कारोबारबापत नेपाल सरकारले ४ अर्ब १ करोड रुपैयाँ लाभकर आर्जन गरेको छ। शेयर कारोबार बढ्न थालेपछि अघिल्ला महिनाको तुलनामा मंसिरमा लाभकर समेत बढेको छ। यो गत वर्षको तुलनामा अत्याधिक नभएपनि बढ्दो गतिमा रहेको तथ्यांक सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।