तीन दिनको अवधिमै नेपाल प्रहरीलाई तीन वटा नवनिर्मित भवन हस्तान्तरण


काठमाडौं –  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्दै नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताए। साथै उनले नागरिकको हितमा अटल रही गुणस्तरीय सेवा प्रवाहमा सदैव क्रियाशील रहन प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। 

यस नवनिर्मित भवनसँगै तीन दिनको अवधिमै नेपाल प्रहरीलाई तीन वटा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन हस्तान्तरण भएको छ। बुधबार इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र मंगलबार वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्घाटन भएको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले छुट्टाछुट्टै कार्यक्रमबीच दुवै नवनिर्मित भवनहरूको उद्घाटन गरेका थिए। 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समयानुकूल आधुनिक एवम् प्रविधिमैत्री भवन निर्माण भएको र नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि हुनुका साथै यसबाट प्रवाह हुने सेवाको गुणस्तर पनि वृद्धि हुने बताएका थिए।नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको गुनासो एवम् समस्या सम्बोधन गर्न सक्षम हुने, प्रहरीको सेवा प्राप्तिमा सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गर्ने तथा परामर्श लिन सक्ने वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो।

साथै,प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक भौतिक पूर्वाधारहरूको पहिचान गरी सोही अनुरूप पूर्वाधार विकास नेपाल प्रहरीको उच्च प्राथमिकतामा रहेको र भौतिक पूर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा समेत उनले गरेका थिए। Foreign, Common Wealth & Development Office (FCDO-UK)  को आर्थिक सहयोगमा  UNOPS द्वारा सञ्चालित Security and Justice Program (SJP) कार्यक्रम अन्तर्गत उक्त भवनहरू निर्माण सम्पन्न भएको हो।

उक्त परियोजना अन्तर्गत हाल सम्म ४ वटा भवन निर्माण भइसकेको र ११ वटा भवनहरू निर्माणको क्रममा रहेका छन्। विगत लामो समयदेखि बेलायत सरकारले नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र समुदायसँगको समन्वय र सहकार्य बढाउनको लागि विभिन्न परियोजनाहरू मार्फत महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको छ।