गोली प्रहार गरेर अभियुक्तलाई समातियो, ६५ तोला सुन बरामद


काठमाडौं – काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो। निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए।

उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो। अभियुक्तको खुट्टामा गोली लागेको छ। हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। एक जना प्रहरी पनि घाइते भएका छन्।

चोरीको मुद्दामा नै जेल बसेका थारु गत जेठमा मात्रै प्रहरीको हिरासत बाट छुटेका थिए। प्रहरीको हिरासतबाट छुटेपछि पनि उनी पून चोरीमा संलग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराई बताउँछन्।