काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाइसकेकाले ढुक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिएका छन्। खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका छन्।
‘नयाँ र पुराना सबै राजनीतिक दलले सौहार्दपूर्ण र शान्तिपूर्ण तरिकाले चुनावमा भाग लिने वातावरण बनाउनु सरकारको प्रमुख दायित्व हो,’ खनालले भने, ‘स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुँदैन भन्ने विश्वास दिलाउन चाहन्छु।’
उनले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्न संवेदनशील हुन आग्रह गरेका छन्। भ्रामक सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले निर्वाचनका चुनौतीका रूपमा लिई त्यसको सामना गर्न रणनीति बनाएको बताएका छन्। मौसमका कारण फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसबारे निर्वाचन आयोगले तत्काल निर्णय लिने उल्लेख गर्दै खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पारे।
मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलगायत सुरक्षा अधिकारीसँग उनले निर्वाचनको तयारीबारे जानकारी लिएका थिए। हालसम्म शान्ति र सौहार्दपूर्ण रूपमा चुनावको तयारी अघि बढेको उनीहरूले जानकारी दिएका छन्।
जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले अस्थायी मतदाता र निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको जानकारी दिए । छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको छ। म्याग्दीमा ११ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार छन्। जिल्लामा ८६ हजार ३९७ मतदाता रहेका छन्। ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन्।



About Us
प्रतिक्रिया