काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गोरखा जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्। आगामी फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा खनालले गोरखा जिल्लाको स्थलगत अनुगमन गरेका हुन्।
जिल्लाको निवार्चन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गोरखा जिल्लामा निर्वाचन आचारसंहिता उलंघनका कुनै पनि उजुरी नपरेको, २३ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्नु पर्ने अवस्था रहेको र ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको विषय अर्थमन्त्रीलाई जानकारी गराए।
अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए। सोक्रममा मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहन वेल्वासे, जिल्ला निर्वाचन कार्यालय गोरखाका कार्यालय प्रमुख टेक बहादुर कोइरालाले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराए।
निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको र स्थानीयस्तरमा राजनीतिक दलहरु बीच निर्वाचनका क्रममा स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भैरहेको आफुलाई अनुभूति भएको विषय जानकारी गराए।



About Us
प्रतिक्रिया