काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका– ४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन्।
पक्राउमध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रुपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका–३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया