काठमाडौं – सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरेर विदेश पठाइदिन्छु भन्दै १४ लाख ६० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीका कल्पना नहर्की पौडेल र बिरेन्द्र रावत रहेका छन्।
उनीहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरी ‘आफू कानुन व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको र हाल विदेशमा आफ्नो होटलमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा नेपाली कामदारहरूको माग भई रहेको हुँदा विदेश पठाइदिन्छ’ भनी ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूले ११ जना व्यक्तिहरूबाट १० हजारदेखि २ लाखसम्म मागी जम्मा १४ लाख ६० हजार ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको छ।





About Us
प्रतिक्रिया