चुनावी माहौलले शेयर बजारमा तरलता बढायो, नेप्से घटबढ हुँदा पनि कारोबार उच्च

लगानीकर्ता भन्छन्, ‘लगानीकर्ताको दुवै हातमा लड्डु छ, खाने कि फाल्ने आफ्नो हातको कुरा हो।’


काठमाडौं – देशभर चुनावी चहलपहल बढ्दै जाँदा त्यसको असर नेपाली शेयर बजारमा स्पष्ट देखिन थालेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पछिल्लो तथ्यांकअनुसार बजार परिसूचक बढोस् वा घटोस्, कारोबार रकम भने निरन्तर उच्च रहँदै आएको छ। पछिल्ला केही सातायता नेप्से ओरालो लागेका दिनहरूमा समेत दैनिक कारोबार रकम उल्लेख्य देखिएको हो।

एक महिना अघिसम्म नेप्सेमा दैनिक ३ देखि ५ अर्ब रुपैयाँसम्म सीमित रहेको कारोबार अहिले चुनावी माहौलसँगै ७ अर्बदेखि १६ अर्ब रुपैयाँसम्म पुगेको छ। राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा बजारमा पैसाको ओइरो लाग्न थालेको संकेत कारोबार रकमले दिएको बजार विश्लेषकहरू बताउँछन्।

गत पुस २१ गतेदेखि नेप्सेमा कारोबार रकम क्रमशः बढ्न थालेको देखिन्छ। त्यसअघि ३–४ अर्ब रुपैयाँमा सीमित रहेको कारोबार पुस मसान्तसम्म आइपुग्दा ५ देखि ६ अर्ब रुपैयाँमा पुगेको थियो। माघ सुरु भएसँगै भने कारोबार रकम झनै उकालो लाग्दै १० अर्बदेखि १७ अर्ब रुपैयाँको हाराहारीमा पुग्न थालेको छ।

नेप्सेको तथ्यांकअनुसार पुस २१ गते करिब ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो। पुस २२ गते कारोबार ७ अर्ब पुगेको थियो भने पुस २३ गते ५ अर्बमा सीमित भयो। पुस २४ गते कारोबार घटेर ४ अर्बमा झरे पनि पुस २८, २९ र ३० गते पुनः करिब ६ अर्ब रुपैयाँ आसपासको कारोबार भएको देखिन्छ।

माघ ४ गते ८ अर्ब रुपैयाँको कारोबार हुँदा नेप्से ३१.१२ अंकले बढेको थियो। त्यसैगरी, माघ ६ गते ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको दिन नेप्से ४२.२६ अंकले बढ्दै २६ सय विन्दु पार गरी २७ सयतर्फ उकालो लागेको थियो। तर, सूचक घटेका दिनमा समेत कारोबार रकम उच्च नै रह्यो।

माघ ७ गते नेप्से ९.४३ अंकले घट्दा पनि करिब ८ अर्ब रुपैयाँको कारोबार भएको थियो। माघ ८ गते पनि ९ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसैगरी, माघ ११ गते १३ अर्बभन्दा बढीको कारोबार हुँदा नेप्से ५७.५५ अंकले बढेको थियो। माघ १२ गते भने नेप्से ३.०७ अंकले घटे पनि कारोबार रकम १६ अर्ब रुपैयाँ पुगेको थियो। माघ १३ गते बजार ४२.५८ अंकले घट्दा पनि १३ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ।

चुनाव नजिकिँदै जाँदा राजनीतिक दल, व्यवसायी तथा लगानीकर्ताबीच आर्थिक गतिविधि बढ्ने भएकाले शेयर बजारमा तरलता बढेको हो। सूचक अस्थिर भए पनि कारोबार रकम उच्च रहँदा बजारमा लगानीकर्ताको सक्रियता बढिरहेको देखिन्छ।

लगानीकर्ता के भन्छन् ? लगानीकर्ताहरूमा पछिल्लो समय चुनावी माहौलको प्रत्यक्ष प्रभाव नेपाली शेयर बजारमा परेको बताएका छन्। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार चुनाव नजिकिँदै जाँदा बजारमा देखिएको सक्रियताले शेयर कारोबारमा सकारात्मक प्रभाव पारेको छ।

उनका अनुसार चुनावपछि स्थायी सरकार बन्ने विश्वास बढेकाले लगानीकर्ताको मनोबल फर्किएको छ। ‘चुनावपछि स्थायी सरकार आउँछ भन्ने अपेक्षा छ। अहिले बजारमा पर्याप्त तरलता छ, ब्याजदर सस्तो छ र केही कम्पनी बाहेक धेरै कम्पनीहरूको वित्तीय विवरण सुधारिएको देखिन्छ। यस्तो अवस्थामा लगानीकर्ताहरू लगानीतर्फ आकर्षित हुनु स्वाभाविक हो,’ पाण्डेले बैकिङ्ग समाचारसँग भने, ‘लगानीकर्ताको दुवै हातमा लड्डु छ, खाने कि फाल्ने आफ्नो हातको कुरा हो।’

यस्तै, नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले पनि चुनावी अन्यौलता हट्दै जाँदा शेयर बजारले गति लिन थालेको बताए। उनकाअनुसार यसअघि चुनाव हुने – नहुने भन्ने अनिश्चितताका कारण बजार सुस्ताएको थियो। ‘अब त्यो अन्यौलता हटेको छ, लगानीकर्ताको गिरेको मनोबल फर्किएको छ। बजारले बिस्तारै गति लिन थाल्छ, यो लगानी गर्ने समय हो,’ उनले भने।

रौनियारका अनुसार पछिल्लो समय शेयर बजारबाट बाहिरिएका पुराना लगानीकर्ता मात्र होइन, नयाँ र ठुला लगानीकर्ता समेत पुनः बजारमा फर्किन थालेका छन्। अहिले शेयरको मूल्य तुलनात्मक रूपमा सस्तो हुनु, निक्षेपको ब्याजदर न्यून रहनु र बैंक तथा वित्तीय संस्थाका वित्तीय विवरणहरू सन्तोषजनक देखिनुजस्ता कारणले लगानीका लागि अनुकूल वातावरण बनेको उनको विश्लेषण छ।