मोरङबाट नेपाली नक्कली नोटसहित २ जना पक्राउ


काठमाडौं – मोरङबाट  नेपाली नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका सहमद हुसेन र महेन्द्र मेहता रहेका छन्। 

पक्राउ परेकामध्ये हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट १ थान र उज्ज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा नेपाली रकम १ हजार जस्तो देखिने शङ्कास्पद नेपाली नोट दिएको सूचनाको आधारमा  हुसेनलाई पक्राउ गरिएको हो। 

साथै, हुसेनलाई नियन्त्रण लिएर प्रारम्भिक अनुसन्धान पश्चात् उनले चलाउँदै आइरहेको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारी खानतलासी गर्दा उक्त सिटी सफारीमा लुकाई छिपाई राखेको एक हजारको शङ्कास्पद नेपाली नोटहरू ३ थान गरी जम्मा ५ थान बरामद गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै,  थप अनुसन्धानका क्रममा मेहताको घर खानतलासी गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट ४ थानसमेत बरामद गरेको प्रहरीले बताएको छ। उनीहरूमाथि  थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।