एनआईसी एशिया बैंकको नाफा घट्यो, अन्य सूचक कस्तो ?


काठमाडौं – एनआईसी एशिया बैंकको नाफामा केही गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले दोस्रो त्रैमासमा बैंकको नाफामा गिरावट आएको देखाएको हो ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्म बैंकले १३ करोड ११ लाख नाफा आर्जन गरेको छ । गत वर्षभने बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले ४ अर्ब ३६ करोड ३८ लाख ब्याज आम्दानी गरेको छ । जबकी गत वर्षको यस अवधिमा ५ अर्ब १८ करोड ६९ लाख ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख ऋणात्मक रहेको थियो ।

पुसम्म बैंकको सञ्चालन मुनाफा १९ करोड ७७ लाख छ । हाल बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रहेको छ भने रिजर्भमा २२ अर्ब ६ करोड ८१ लाख छ । समीक्षा वर्षसम्म बैंकले ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकको खराब कर्जा अनुपात १.५७ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म १।४७ प्रतिशत थियो ।