खुद ब्याज आम्दानी बढ्दापनि लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक


काठमाडौं – लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले दोस्रो त्रैमासमा बैंकको नाफा ऋणात्मक रहेको देखाएको हो ।

गत आर्थिक वर्षको पुमसान्तसम्ममा १ अर्ब १६ करोड २० लाख नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ करोड ३६ लाख नोक्सानी व्यहोरेको छ । बैंकको खुद ब्याज आम्दानी बढ्दापनि नाफा भने ऋणात्मक देखिएको हो । बैंकले हालसम्म ५ अर्ब २४ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ । नाफा ऋणात्मक बन्दा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख ऋणात्मक रहेको छ ।

हाल बैंकको चुक्तापुँजी २६ अर्ब ७८ करोड ११ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख सञ्चित छ ।