ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्न सकिने


काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र प्रविधिमैत्री बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालयमा रहेको किओस्क मेसिनमार्फतै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ। बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सार्वजनिक गरेको हो। यस सेवाअन्तर्गत ग्राहकले बैंकको काठमाडौंस्थित कमलादी शाखामा रहेको किओस्क मेसिन प्रयोग गरी स्वयंले खाता खोल्न सक्नेछन्।

खाता खोल्ने क्रममा आवश्यक सम्पूर्ण विवरण किओस्क मेसिनमार्फत प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। विवरण र आवश्यक कागजात प्रविष्ट गरेपछि ग्राहकलाई खाता नम्बर उपलब्ध गराइनेछ। हालका लागि यो सेवा बैंकको कमलादीस्थित डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ।

यसअघि नै बैंकले सोही डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिटजस्ता सेवा मेसिनबाटै उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी दिनमा यस्ता डिजिटल सेवालाई अन्य स्थानहरूमा समेत विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा परिचित ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्। बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न देशहरूबाट नेपालमा आर्थिक कारोबार सहज बनाउँदै आएको छ।