सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका रहेको एनआईसी एशिया बैंक तोडफोडमा संलग्न एकजना पक्राउ

बचत तथा ऋण सहकारी संस्थामा समेत श्रृङखलाबद्ध चोरीमा संलग्न


काठमाडौं – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका नगरपालिका– ५ सल्लेरी बजारस्थित लाक्पा शेर्पाको घरमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंक लिमिटेड शाखा कार्यालयमा तोडफोड गरी रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राई रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उनलाई रातको समयमा मुखमा मुखुण्डो लगाएर उक्त बैंकको मूल ढोकाको चाबी फोडीभित्र दोस्रो तलामा रहेको बैंकको च्यानल गेट तथा चाबी फलामको रडको सहायताले तोडफोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

 उनले तोडफोड गरेको सोही घरमा भाडामा बस्ने मानिसहरूले थाहा पाएपछि हो–हल्ला गरेका थिए। त्यसपछि फलामका रडहरू सोही स्थानमा छाडी भागेका उनी बैंकमा रहेको सीसी टिभी क्यामेरा फुटेजको आधारमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले उनले लगाएको कपडा, घटनामा च्यानल गेट तोडफोड गर्न प्रयोग गरेका अन्य सामानसहित फेला पारी बरामद गरी पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता विकास राईले जानकारी दिए।

उनले यही कात्तिक १० गते राती  सोलुखुम्बुको देउसा लुची बजारमा राज खत्रीले सञ्चालन गरेको किराना पसलबाट नगद ७ लाख र एनटिसीको १०० दरको रिचार्ज कार्ड ४ सय थान, ५० दरको २ सय थान, एनसेलको १ सय रुपैयाँ दरको रिचार्ज कार्ड १ सय थान चोरी गरी लगेका थिए। 

त्यस्तै, उनले यसभन्दा गत वर्षको कात्तिक ११ र २२ गते दुई वटा सहकारीमा समेत चोरी गरेका थिए। राईले चाबहिल मित्रपार्कमा रहेको पूर्णिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गणेशस्थानमा रहेको शुभ विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा तोडफोड गरी चोरी गरेका थिए। 

प्रहरी वृत्त गौशाला काठमाडौंबाट दुवै कसुरमा चोरी तथा डाँका शीर्षकमा मुद्दा चलेकोमा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला बमोजिम उनलाई ३ महिना ५ दिन कैद, १५ हजार जरिवाना र ४ चार लाख ३९ हजार क्षतिपूर्ति तिर्नुपर्ने भनी फैसला भएको थियो।

तर, उनले फैसला कार्यान्वयनलाई सहयोग नगरी फरार रहँदै श्रृङखलाबद्ध रूपमा चोरी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ। साथै, उनले अन्य जिल्लाहरूमा समेत आपराधिक घटना घटाएको हुनसक्ने भएकोले थप जानकारीको लागी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ।