काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया