काठमाडौं — सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सिर्जना गरेको आरोपमा ४४ वर्षीय देवी प्रसाद सङ्ग्रौलामाथि अनुसन्धान भइरहेको छ।
उनलाई युट्युब च्यानल लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरी अनुसन्धान गरिएको हो।
संग्रौलाले सामाजिक सञ्जालमा बैंकका कर्मचारीहरूलाई कुटपिट गर्नुपर्ने, ‘भण्डारखाल जस्तो काण्ड’ मच्चाउनुपर्ने लगायतका उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा सत्यता बुझ्न सम्बन्धित ब्युरोमा उपस्थित गराई प्रारम्भिक सोधपुछ गरिएको थियो। सो क्रममा उनले कानुनी राज्यमा कानुनको उल्लंघन गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध बोलेको स्वीकार गर्दै उक्त कार्य आफ्नो गल्ती भएको बताएका छन्।
उनले अबका दिनमा कानुनलाई शिरमा राखी जिम्मेवार ढंगले बोल्ने, समाज र राज्यलाई असर पुग्ने खालका अभिव्यक्ति नदिने प्रतिबद्धता व्यक्त गर्दै एक पटकका लागि नेपाल सरकारसमक्ष क्षमा याचना समेत गरेका छन्। यस सम्बन्धमा उनले लिखित कागजसमेत पेस गरेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै सम्बन्धित ब्युरोले सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति तथा श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने गतिविधिमाथि निरन्तर निगरानी भइरहेको स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया