वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात


वीरगञ्ज –वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड रुपैयाँ बढीको निर्यात भएको छ ।

गत आवको ६ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ । महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए ।

चालु आवको ६ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँ मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । ३ अर्ब ४८ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

त्यस्तै, दुई अर्ब २५ करोड रूपैयाँ मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै, एक अर्ब ७८ करोड रूपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।