बैंकको आम्दानी खस्किँदा सरकारलाई आयकरमा धक्का, ब्याजकर संकलन १६.३९ प्रतिशतले घट्यो


काठमाडौं – बैंक तथा वित्तीय संस्थाको आम्दानी कमजोर बन्दै जाँदा त्यसको प्रत्यक्ष असर सरकारी राजस्वमा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)मा सरकारले संकलन गर्ने ब्याजकर १६.३९ प्रतिशतले घटेको छ। बैंकिङ्ग क्षेत्रको अधिक तरलताले सरकारको राजस्व संरचनामाथि बढ्दो दबाब बढाएको स्पष्ट देखिन्छ।

तथ्यांकअनुसार चालु आवको छ महिनामा सरकारले १३ अर्ब ४८ करोड रुपैयाँ ब्याजकर संकलन गरेको छ। गत आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा यो संकलन १६ अर्ब १२ करोड रुपैयाँ थियो। लक्ष्यसँग तुलना गर्दा ब्याजकर संकलन लक्ष्यको ४८.९७ प्रतिशतमा मात्रै सीमित छ।

बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय ऋणको माग कमजोर छ। साथै कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा ब्याजकर घटेको देखिन्छ। बैंकहरूको कुल आम्दानीमध्ये करिब ८२ प्रतिशत हिस्सा ब्याज आम्दानीमा निर्भर छ। तर, प्रणालीमा अधिक तरलता थुप्रिँदा निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ। निक्षेप सस्तो हुँदै जाँदा कर्जाको लागत पनि घट्ने भएकाले कर्जाको ब्याजदर समेत ओरालो लागेको छ। यसले बैंकहरूको ब्याज आम्दानीमा प्रत्यक्ष दबाब सिर्जना गरेको छ।

आर्थिक वर्ष ०८२/८३ को मंसिरसम्म २० वटा वाणिज्य बैंकहरूको कुल आम्दानी दुई खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यसमध्ये एक खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँ ब्याज आम्दानी हो। अधिकांश बैंकहरूको ७५ प्रतिशतभन्दा बढी आम्दानी ब्याजबाट आएको देखिन्छ। तर, आम्दानीसँगै ब्याज खर्च पनि उल्लेख्य छ। सोही अवधिमा बैंकहरूको ब्याज खर्च एक खर्ब १३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

कुल खर्चमध्ये ४८.५५ प्रतिशत हिस्सा ब्याज खर्चले ओगट्नुले बैंकहरूको नाफामा दबाब बढ्ने जोखिम देखिएको छ। बैंकहरूले माघका लागि निक्षेपको ब्याजदर थप सस्तो बनाएका छन्। विशेषगरी निक्षेप लागत उच्च रहँदा कर्जा विस्तार सुस्त हुनु बैंकिङ्ग क्षेत्रका लागि दीर्घकालीन चुनौती बनेको छ। पुस महिनामा मात्रै पनि ब्याजकर संकलन कमजोर देखिएको छ। पुसमा सरकारले ९६ करोड ४४ लाख रुपैयाँ मात्रै ब्याजकर संकलन गर्न सकेको छ। गत वर्षको पुसमा भने एक अर्ब १४ करोड २५ लाख रुपैयाँ ब्याजकर उठेको थियो।

ब्याजकर घटेसँगै सरकारले उठाउने आयकर संकलनमा समेत गिरावट आएको छ। चालु आवको छ महिनामा आयकर संकलन २.६६ प्रतिशतले घटेको छ। यस अवधिमा सरकारले एक खर्ब ३८ अर्ब रुपैयाँ आयकर उठाएको छ।

गत आवको सोही अवधिमा आयकर संकलन एक खर्ब ४१ अर्ब रुपैयाँ थियो। बैंक तथा वित्तीय संस्थाको पुससम्मको पूर्ण वित्तीय विवरण आउन बाँकी रहेपनि हालसम्मको ब्याजकर संकलनको प्रवृत्तिले बैंकहरूको ब्याज आम्दानी थप खस्किन सक्ने संकेत दिएको छ। यसले आगामी महिनाहरूमा सरकारी राजस्व व्यवस्थापन र बजेट कार्यान्वयनमा थप चुनौती सिर्जना गर्ने देखिन्छ।