पुँजी बढाउन बैंकहरूले किन रोज्दैछन् अविमोच्य अग्राधिकार शेयर ?

३ वाणिज्य बैंकसहित एक विकास बैंकले लिए अनुमति


काठमाडौं – पुँजीको अभावको दबाबमा परेका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशनतर्फ आकर्षित हुन थालेका छन्। बैंकहरूले आफ्नो पुँजी बलियो बनाउन खोज्दा यस्तो शेयर उपयोगी विकल्पका रूपमा देखिएको हो। सामान्यतया बैंक तथा वित्तीय संस्थाले पुँजी बढाउन एफपिओ, बोनस शेयर, हकप्रद शेयर वा अग्राधिकार शेयर निष्काशन गर्न सक्छन्।

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अविमोच्य असञ्चिति (पर्पेच्युअल नन–क्युमुलेटिभ) अग्राधिकार शेयर निष्काशनमा सहजीकरण गरेपछि बैंकहरू यसतर्फ बढी चासो देखाउन थालेका हुन्। सेबोनले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका नवौँ पटक संशोधन गर्दै यस्तो शेयर जारी गर्न कानुनी बाटो खोलेको थियो।

निर्देशिका संशोधनपछि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाले यस्तो शेयर निष्काशन सुरु गरिसकेका छन्। निजी क्षेत्रका बैंकमध्ये नबिल बैंकले पहिलो पटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशनको अनुमति पाएको हो। यसअघि भने सरकारी स्वामित्वको कृषि विकास बैंकले यस्तो शेयर निष्काशन गरिसकेको छ। नबिल बैंकले राष्ट्र बैंकबाट स्वीकृति पाएपछि सेबोनमा प्रस्ताव पठाएको थियो र सेबोनले पनि पहिलो पटक निजी बैंकलाई यस्तो शेयर जारी गर्न अनुमति दिएको हो।

यस्तो शेयरले बैंक तथा वित्तीय संस्थालाई पुँजीको दबाब परेको समयमा आफ्नो पुँजी संरचना बलियो बनाउन मद्दत गर्छ। यसले सम्भावित वित्तीय संकटको जोखिम कम गर्ने र समग्र वित्तीय प्रणालीलाई स्थायित्व दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, सेबोनले यस शेयरमा लगानी गर्दा सावधानी अपनाउन पनि सचेत गराएको छ। अविमोच्य र असञ्चिति प्रकृतिको भएकाले यसमा लगानी गर्नु अघि विवरण पत्र राम्ररी अध्ययन गर्नुपर्ने बोर्डको भनाइ छ। लगानीकर्ताले आफ्नो जोखिम वहन गर्ने क्षमता नहेरी लगानी गरेमा पछि समस्या पर्न सक्ने भन्दै सेबोनले चेतावनी दिएको छ।

नबिलसहित ३ वाणिज्य र एक विकास बैंकले पाए अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साउन १ गतेदेखि लागू हुने गरी धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरेपछि बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशनको अनुमति पाउन थालेका छन्। सोही व्यवस्थाअनुसार मंसिर ५ गते सेबोनले नबिल बैंकलाई पहिलो पटक यस्तो शेयर निष्काशनको अनुमति दिएको थियो। नबिल बैंकले सेबोनको अनुमति पाएपछि प्रतिकित्ता १०० रुपैयाँका दरले ५ करोड कित्ता शेयर निष्काशन गर्दै ५ अर्ब रुपैयाँ उठाएको छ। उक्त शेयरमा वार्षिक ८ प्रतिशत ब्याजदर तोकिएको छ।

नबिल बैंकसँगै अन्य बैंकहरूले पनि यस्ता शेयर निष्काशनको अनुमति पाएका छन्। हालसम्म सेबोनले ३ वटा वाणिज्य बैंक र एक विकास बैंक लाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशनको स्वीकृति दिएको छ । वाणिज्य बैंकतर्फ नबिल बैंकसँगै एनएमबि बैंक र सिद्धार्थ बैंकलाई अनुमति दिइएको हो भने विकास बैंकतर्फ कामना सेवा विकास बैंकलाई स्वीकृति दिइएको छ।

एनएमबि बैंकले ८.२५ प्रतिशत प्रतिफल दरसहित ३ अर्ब रुपैयाँ बराबरको यस्तो शेयर जारी गर्ने अनुमति पाएको छ। यस्तै सेबोनले सिद्धार्थ बैंकलाई ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न स्वीकृति दिएको छ। कामना सेवा विकास बैंकले भने ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता यस्ता शेयर निष्काशन गरेको छ। नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष सुनिल केसीका अनुसार बैंकमा हुने दुई प्रकारका पुँजीमध्ये यस्तो अग्राधिकार शेयर टायर वान क्यापिटलमा गणना हुन्छ। डिबेञ्चरजस्ता साधनहरू टायर टु क्यापिटलमा पर्ने भएकाले टायर वान क्यापिटल बढाउन कठिन हुँदा बैंकहरू यस्तो शेयर निष्काशनतर्फ आकर्षित भएको उनको भनाइ छ।

राष्ट्र बैंकको व्यवस्थामा के छ ?
राष्ट्र बैंकले २०८१ असारमा बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने स्पष्ट व्यवस्था गरेको हो। यसअनुसार यस्ता शेयर भुक्तानी अवधि तोकेर (म्याद राखेर) निष्काशन गर्न पाइँदैन। साथै, यो शेयर संस्थागत लगानीकर्ताले मात्र लगानी गर्ने सुनिश्चित गर्नुपर्नेछ। राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले यस्तो शेयर स्वयंले निष्काशन गर्नुपर्ने हुन्छ र जारी गरिएका शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ। यस्ता शेयर निष्काशन गर्दा कुनै पनि किसिमको सुरक्षण (ग्यारेन्टी) राख्न नपाइने व्यवस्था गरिएको छ।

यस शेयरमा लाभांश दिने वा नदिने निर्णय गर्ने पूर्ण अधिकार सम्बन्धित बैंक वा वित्तीय संस्थामा रहनेछ। तर, त्यससम्बन्धी सबै व्यवस्था र लाभांश दर विवरणपत्रमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश भने चालु आर्थिक वर्षको मुनाफाबाट मात्र वितरण गर्न पाइनेछ। यसका लागि सञ्चित मुनाफा खाता वा अन्य कुनै पनि कोष प्रयोग गर्न पाइँदैन।

यस्ता शेयर जारी गरेका संस्थाको पुँजी कमजोर भई तोकिएको ‘ट्रिगर बिन्दु’ पुगेमा, नोक्सानी प्रशोचनका लागि उक्त शेयरलाई साधारण शेयरमा रूपान्तरण गर्नुपर्ने व्यवस्था छ। तर, यसरी रूपान्तरण गर्नुअघि नेपाल राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुनेछ। राष्ट्र बैंकका अनुसार, साधारण शेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशतभन्दा कम पुगेको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ।

के हो अविमोच्य असञ्चिति अग्राधिकार शेयर ?
यस शेयरमा विभिन्न किसिमका म्युचुअल फण्ड, डिबेन्चरमा हुने जस्तो निश्चित समयमावधि हुँदैन। एकपटक यस किसिमको शेयरमा लगानी गरेपछि कहिले पनि सकिदैन। लामो समयका लागि लगानी गर्न चाहने लगानीकर्ताहरूका लागी यस शेयर निकै प्रभावकारी हुन्छ। यस शेयरमा लगानी गरेका लगानीकर्ता लाभांशको पहिलो प्राथमिकतामा पर्ने गर्छन्।

कुनैपनि संस्थाले एक आर्थिक वर्षमा गरेको नाफाबाट वितरण गर्ने लाभांशमा पहिलो प्राथमिकता अविमोच्य असञ्चिति अग्राधिकार लिएकाहरूलाई दिनुपर्ने हुन्छ। लाभांश वितरण गर्दा कम्पनीले पहिले अविमोच्य असञ्चिति अग्राधिकार शेयर हुनेहरूलाई लाभांश वितरण गरेपछि मात्रै साधारण शेयरधनीलाई कम्पनीले लाभांश दिनेगर्छ। यस शेयरमा संस्थागत लगानीकर्ताहरूले मात्रै आवेदन दिन पाउने व्यवस्था छ। संस्थापक शेयरधनीले मात्रै किनबेच गर्न पाउने यस्तो शेयरको अंकित मूल्य १ सय रुपैयाँ हुने व्यवस्था नै छ।