यी हुन् प्रत्येक वर्ष एकनासको लाभांश दिने ४ बैंक, अरू बैंकले के सिक्ने ?


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको रिटर्न अन इक्विटी (आरओई) निरन्तर ओरालो लागिरहेको छ। अर्थतन्त्र लामो समयदेखि सुस्त हुँदा बैंकहरूको आम्दानीको मुख्य आधार मानिने ब्याज आम्दानी खुम्चिएको छ। जसको प्रत्यक्ष असर बैंकहरूको प्रतिफल क्षमतामा देखिएको हो। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले पछिल्ला चार वर्षदेखि नै बैंकिङ्ग क्षेत्रको रिटर्न क्षमता कमजोर हुँदै गएको छ।

आर्थिक वर्ष ०७८/७९ मा वाणिज्य बैंकहरूको औसत आरओई १४.०८ प्रतिशत थियो। यो ०७९/८० मा घटेर १२.०९ प्रतिशतमा झर्याे। त्यसपछि ०८०/८१ मा १०.२९ प्रतिशत र ०८१/८२ मा ९.९७ प्रतिशतमा सीमित भयो। राष्ट्र बैंकले असल कर्जामा एक प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था लागू गरेपछि बैंकहरूको आरओईमा सुधार आउने अपेक्षा गरिएको थियो। तर, केन्द्रीय बैंकको यो व्यवस्थाले पनि तत्काल परिणाम दिन सकेन। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अन्त्यसम्म आइपुग्दा वाणिज्य बैंकहरूको औसत आरओई घटेर ६.४० प्रतिशतमा झरेको छ।

पहिलो त्रैमासको तथ्यांकअनुसार सात वटा वाणिज्य बैंकको मात्र आरओई दोहोरो अंकमा कायम छ। ११ वटा बैंकको आरओई एकल अंकमा सीमित हुँदा सिटिजन्स बैंक ऋणात्मक आरओईमा पुगेको छ। कृषि विकास बैंक भने प्रतिफल नै दिन नसक्ने अवस्थामा देखिएको छ। समग्र बैंकिङ्ग क्षेत्र दबाबमा रहे पनि केही बैंक भने चुनौतीबीच अवसर खोज्दै शेयरधनीलाई तुलनात्मक रूपमा स्थिर ढंगले लाभांश दिन सफल भएका छन्।

ती चार बैंकले लागत नियन्त्रण, जोखिम व्यवस्थापन र वैकल्पिक आम्दानी स्रोतमा दिएको ध्यान अन्य बैंकका लागि पनि स्पष्ट सिकाइको विषय बनेको छ। आरओई घट्दो क्रममा रहँदा बैंकहरूको लाभांश क्षमता खुम्चिँदै गएको छ। यस्तो अवस्थामा रणनीतिमा सुधार नगरे आगामी दिनमा बैंकिङ्ग क्षेत्रको प्रतिफल अझै कमजोर बन्न सक्ने देखिन्छ।

लगातार स्थिर प्रतिफल दिने चार बैंक

समग्र बैंक तथा वित्तीय संस्थाको रिटर्न अन इक्विटी (आरओई) घट्दो क्रममा रहे पनि सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चार वटा बैंकले भने शेयरधनीलाई निरन्तर र स्थिर प्रतिफल दिँदै आएका छन्। धेरै बैंकले नाफा बढ्दा ठूलो लाभांश बाँड्ने र नाफामा गिरावट आउँदा प्रतिफल शून्यसम्म झार्ने प्रवृत्ति अपनाइरहँदा यी बैंकले भने लाभांशको निरन्तरतामा विशेष ध्यान दिएको देखिन्छ। लगातार एउटै दरको आसपास प्रतिफल वितरण गर्ने बैंकमा एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र नेपाल एसबीआई रहेका छन्। यी बैंकले विगत तीन आर्थिक वर्षदेखि शेयरधनीलाई आकर्षक र स्थिर प्रतिफल दिँदै आएका हुन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १९ वाणिज्य बैंकमध्ये सबैभन्दा उत्कृष्ट प्रतिफल दिने बैंकमा एभरेष्ट बैंक अग्रस्थानमा देखिन्छ। बैंकले पछिल्ला वर्षहरूमा लगातार १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले हरेक वर्ष १९ प्रतिशतभन्दा बढी प्रतिफल दिँदै आएको छ। नबिल बैंकले पनि तीन आर्थिक वर्षदेखि लगातार १० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै शेयरधनीको भरोसा जोगाइरहेको छ। नेपाल एसबीआई बैंकले समेत हरेक वर्ष करिब १० प्रतिशतको हाराहारीमा प्रतिफल दिँदै आएको नेप्सेको तथ्यांकले देखाउँछ।

एकै दरका प्रतिफल कसरी सम्भव भयो ?

हरेक कम्पनीले आर्थिक वर्षभरिमा गरेको नाफाबाट लाभांश वितरण गर्दै आइरहेका छन्। कम्पनीले नाफा आर्जन गरेबापत् संस्थामा लगानी गर्नेहरूलाई लगानीको प्रतिफल दिने गरेका छन्। कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनी (लगानीकर्ता) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ। लाभांश नगद र शेयर दुई किसिमबाट वितरण हुन्छ।

कुनैपनि कम्पनीहरूले लगातार रूपमा एकै दरको लाभांश दिन निकै चुनौती सामना गर्नुपर्ने हुन्छ। कम्पनीको नाफामा हरेक वर्ष विभिन्न किसिमका उतारचढाव आउने हुँदा स्थिर लाभांश दिनु कम्पनीका लागि निकै चुनौतीपूर्ण विषय हो। तर, कम्पनीका विशेष व्यवस्था तथा नीतिले भने शेयरधनीलाई दिने प्रतिफलमा स्थिरता ल्याउन सहयोग गर्ने गर्छ। चार वाणिज्य बैंकहरूले कम्पनीहरूले नाफा बढ्दा वा घट्दा पनि लगभग समान प्रतिफल दिने गरेका छन्। बैंकहरूले नाफा बढ्दा अतिरिक्त रिजर्भ राख्ने गरेका हुन्छन् । जसरी कम्पनीको नाफामा गिरावट आउँदा समेत रिजर्भबाट पूरा गर्ने गरेका हुन्छन्।

एभरेष्ट बैंकले लाभांशका लागी विशेष नीति नै बनाएर स्थिर लाभांश वितरण गर्नेगरी अघि बढेका कारण लगातार रुपमा स्थिर प्रतिफल दिन सकिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन्। नाफा बढी आर्जन गर्दा बाँकी पैसालाई रिजर्भमा राखेर पनि स्थिर लाभांश दिँदै आएको उनको भनाई छ। ‘हालसम्म हाम्रो बैंकको नाफामा ठूलो संकुचन आएको छैन,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘लगानी गर्नेहरूलाई उचित प्रतिफल दिनुपर्ने विषयलाई ध्यानमा राखेर लाभांशसम्बन्धि नीति नै सस्टेन किसिमको बनाएका छौं।’


अरू बैंकले के सिक्ने?

यतिबेला बैंक तथा वित्तीय संस्थाको नाफामा उल्लेख्य गिरावट आएको छ। कर्जा लगानी अपेक्षाअनुसार बढ्न नसक्दा र बैंकहरूको मुख्य आम्दानी स्रोत मानिने ब्याज आम्दानी घट्दै जाँदा शेयरधनीलाई दिने प्रतिफल पनि क्रमशः खुम्चिँदै गएको छ। यस्तो परिस्थितिमा अधिकांश बैंकको लाभांश क्षमता कमजोर हुनु स्वाभाविक देखिए पनि, बलिया वित्तीय सूचकसहित निरन्तर र स्थिर प्रतिफल दिने केही बैंकले फरक अभ्यास प्रस्तुत गरेका छन्। यी बैंकबाट अन्य बैंक तथा सूचिकृत कम्पनीहरूले धेरै महत्वपूर्ण पाठ सिक्न सक्ने विज्ञहरूको भनाइ छ।

विज्ञहरूका अनुसार यस्ता बैंकको मुख्य विशेषता भनेकै जोखिम नियन्त्रण, खर्च व्यवस्थापन, पारदर्शिता र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिनु हो। नाफा धेरै हुँदा मात्र उच्च लाभांश बाँड्ने र नाफा घट्दा प्रतिफल शून्यमा झार्ने प्रवृत्तिभन्दा बाहिर रहेर निरन्तरता कायम राख्नु नै यी बैंकहरूको बलियो पक्ष मानिन्छ। उच्च शेयर मूल्य भए पनि वर्षौंसम्म शेयरधनीलाई प्रतिफल नदिने कम्पनीहरूले समेत यस्ता बैंकबाट वित्तीय अनुशासन र स्थायित्वका विषयमा सिक्नुपर्ने विज्ञहरूको बुझाइ छ।


नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट बैंकहरूले प्रतिफल दिन नसक्नु अहिलेको अवस्थामा लज्जास्पद अवस्था भएको टिप्पणी गर्छन्। उनकाअनुसार बैंक सामान्य अवस्थामा समेत नाफामा रहनैपर्ने बाध्यात्मक संरचनामा काम गर्छन्। ‘बैंकहरूमा शेयरधनीको निरन्तर दबाब हुन्छ। अघिल्लो वर्षभन्दा बढी लाभांश दिनुपर्छ भन्ने अपेक्षा रहन्छ,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘त्यही दबाबका कारण पनि बैंक व्यवस्थापनले लाभांश सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेर निरन्तर प्रतिफल दिने प्रयास गर्छन्।

’बैंकले दिने लाभांशले त्यस संस्थाप्रति बजारको दृष्टिकोण नै फरक पार्छ। कम्पनीलाई दीर्घकालीन रूपमा दिगो बनाइराख्न, शेयरधनीलाई आफ्नो लगानी सुरक्षित भएको अनुभूति दिलाउन र बजारमा विश्वास कायम राख्न बैंकहरूले लाभांश नीतिलाई रणनीतिक प्राथमिकता दिनैपर्ने देखिन्छ।

लाभांश दिन अब्बल ४ बैंकको कति छ शेयर मूल्य?

एभरेष्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, नबिल र नेपाल एसबीआई बैंकले शेयरधनीलाई समान प्रतिफल दिदैँ आएको नेप्से तथ्यांकले देखाउँछ। यी बैंकहरु प्रतिफल दिनमा मात्रै नभएर अन्य १५ वाणिज्य बैंकहरुको तुलनामा यी ४ बैंकको शेयर मूल्य पनि उच्च रहेको देखिन्छ। जसमा एभरेष्ट बैंकको शेयरमूल्य अन्य बैंकको तुलनामा उच्च रहेको छ। नेप्सेमा एभरेष्ट बैंकको शेयर मूल्य ६६१ रुपैयाँ रहेको छ। त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको ६४० रुपैयाँ शेयर मूल्य रहेको छ। यससँगै क्रमशः नबिल बैंकको ४८९ रुपैयाँ र नेपाल एसबीआई बैंकको ३९८ रुपैयाँ शेयर मूल्य रहेको छ।

अन्यको कति ?

यी ४ बैंक पछिको सिद्धार्थ बैंक पनि शेयर मूल्य उच्च रहेको बैंकहरु मध्ये पर्छ। जसको नेप्सेमा शेयर मूल्य ३९७.९० रुपैयाँ रहेको छ। त्यस्तै, एनआईसी एशिया बैंकको ३४५.९० रुपैयाँ, सानिमा बैंकको ३४० रुपैयाँ, कृषि विकास बैंकको ३०० रुपैयाँ शेयर मूल्य रहेको छ। त्यसैगरी, नेपाल बैंकको २४१ रुपैयाँ, एनएमबी बैंकको २३९ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २३७ रुपैयाँ शेयरमूल्य रहेको नेप्से तथ्यांकले देखाउछ।

त्यससँगै, ग्लोबल आइएमई बैंकको २२८ रुपैयाँ, माछापुच्छ्रे बैंकको २२४.९० रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २१४.२० रुपैयाँ शेयरमूल्य रहेको छ। त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९७.४० रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९२ रुपैयाँ शेयर मूल्य रहेको छ। साथै, नेप्से तथ्यांकअनुसार हिमालयन बैंकको १९०.१० रुपैयाँ, कुमारीको १७९ रुपैयाँ र प्रभु बैंकको १८५.८९ रुपैयाँ शेयर मूल्य रहेको छ।

नेप्से तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा शेयर मूल्य उच्च रहेका बैंकहरुले समेत शेयरधनीलाई प्रतिफल नदिएको देखिन्छ। यता शेयर मूल्य कम रहेका बैंकहरुले पनि समान रुपमा प्रतिफल दिइरहेका छन्। भने शेयरमूल्य उच्चसँगै र प्रतिफल पनि समान बैंकहरु पनि रहेका छन्। एभरेष्ट, स्ट्यान्डर्ड चाटर्ड, नबिल र नेपाल एसबीआई बैंक शेयरधनीलाई समान प्रतिफल दिदैँ आउँदा, हिमालयन बैंक, कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने ३ आर्थिक वर्षदेखि लगातार शेयरधनीको हात खाली बनाउँदै आएका छन्।