शिखर पावर डेभलपमेन्टको आईपीओ माघ ६ देखि खुल्ने


काठमाडाैं – शिखर पावर डेभलपमेन्ट लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ। नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकालाई अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन गर्न लागेको छ।

कम्पनीले जारी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता शेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो। जलविद्युत् समूहको यो कम्पनीमा ६७.३५ प्रतिशत शेयर संस्थापक समूहको रहनेछ। बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

प्रभावितका रुपमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका सम्पूर्ण वडा र ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन्। कम्पनीले ९ लाख ८० हजार कित्ता शेयर प्रभावित स्थानीयका लागि छुट्याइएको छ। न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको बुर्तिबाङ र बागलुङ बजारको शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बुर्तिबाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। प्रभावित क्षेत्रका स्थानीयले छिटोमा माघ २० गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारमा रहेकालाई २ लाख २२ हजार कित्ता शेयर छुट्याइएकाे छ। वैदेशिक रोजगारमा रहेकाले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन्।