कर्णाली विकास बैंक राष्ट्रियस्तर उक्लिने तयारीमा, नयाँ शेयर जारी गरी चुक्ता पुँजी साढे ४ अर्ब पुर्‍याइने


काठमाडौं – एक वर्षअघि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक अब राष्ट्रियस्तरको विकास बैंक बन्ने दिशामा अघि बढेको छ। राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन टोलीले बैंकको पुनर्संरचना गर्दै चुक्ता पुँजी वृद्धि गर्ने प्रक्रिया अघि बढाएसँगै बैंक राष्ट्रियस्तर उन्मुख देखिएको हो।

राष्ट्र बैंकको टोलीले ३५ जनाले हकप्रद शेयर खरिदका क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको तथ्य फेला पारेपछि अवैधानिक रूपमा कायम गरिएको शेयर पुँजी घटाउने निर्णय गरिसकेको छ। यसअघि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्दा बैंकको चुक्तापुँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखिएको तथा शेयरधनीबाट चुक्ता हुनुपर्ने शेयर पुँजी अवैधानिक रूपमा दाखिला भएको निष्कर्ष निकाल्दै पुनर्संरचना प्रक्रिया अघि बढाइएको थियो। सोही क्रममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार शेयरधनीको शेयर पुँजी १ प्रतिशतमा झार्ने निर्णय गरिएको हो।


केन्द्रीय बैंकले हाल २५ जना संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ३६ हजार कित्ता शेयर घटाएर २१ हजार ३६० कित्ता मात्र कायम गरेको छ। त्यस्तै, साधारण शेयरधनीको नाममा रहेको १२ हजार ६८४ कित्ता शेयर घटाएर १२६ कित्ता मात्र कायम गरिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा बैंकको व्यवस्थापन जिम्मा दिएको छ।

संयोजक खतिवडाका अनुसार संस्थापक शेयरधनीको शेयर घटाएर नयाँ चुक्तापुँजी कायम गर्ने र त्यसअनुसार नयाँ शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइ भइरहेको छ। हाल बैंकले तिर्नुपर्ने कूल दायित्व ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ। तर, निक्षेप, कर्जा असुली तथा अन्य स्रोतबाट बैंकसँग रहेको कूल सम्पत्ति करिब २ अर्ब ३० करोड रुपैयाँ मात्र रहेको छ। यसअनुसार करिब २ अर्ब रुपैयाँ दायित्व तिर्न बैंक असमर्थ देखिएपछि चुक्तापुँजी वृद्धि गरी बैंकलाई राष्ट्रियस्तरको विकास बैंक बनाउने तयारी थालिएको हो।


बैंक व्यवस्थापन टोलीले पहिलो चरणमा बैंकका निक्षेपकर्ताको रकमलाई शेयरमा रुपान्तरण गर्ने योजना बनाएको छ। बैंकको चुक्तापुँजी ४ अर्ब ५० करोड रुपैयाँसम्म पुर्याउने तयारी भइरहेको संयोजक खतिवडाले बताए। ‘पहिलो चरणमा निक्षेपकर्ताको निक्षेप शेयरमा रुपान्तरण गरिन्छ,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘त्यसपछि साढे ४ अर्ब पुर्याउन अपुग हुने शेयर सार्वजनिक आह्वानमार्फत जारी गर्न सकिन्छ।’

निक्षेपलाई शेयरमा रुपान्तरण गर्ने स्पष्ट नीतिगत व्यवस्था नहुँदा व्यवस्थापन प्रक्रियामा केही चुनौती आएको खतिवडाको भनाइ छ। निक्षेपलाई शेयरमा रुपान्तरणसम्बन्धी नीतिगत व्यवस्था धितोपत्र बोर्डले गर्ने भएकाले कर्णाली बैंकको पुनर्संरचनामा केही समय लागेको उनले बताए। राष्ट्रियस्तरको विकास बैंक बन्न कम्तीमा २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी आवश्यक पर्छ। तर, चुक्तापुँजी ४ अर्ब ५० करोड रुपैयाँ पुर्याएपछि कर्णाली विकास बैंक राष्ट्रियस्तरको विकास बैंक बन्न योग्य हुने व्यवस्थापनको निष्कर्ष छ। बैंकले फागुन मसान्तसम्म सबै पुनर्संरचना प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखेको छ।