टेलिग्राममाथिको प्रतिबन्ध प्रभावहीन, ठगीका उजुरी प्रहरीमा बढ्दो


काठमाडौं – ठगी, सम्पत्ति शुद्धीकरण तथा अवैध आर्थिक गतिविधिमा प्रयोग हुँदै आएको भन्दै सरकारले सामाजिक सञ्जाल एप टेलिग्राममाथि लगाएको प्रतिबन्ध प्रभावहीन देखिएको छ। प्रतिबन्ध लगाएको करिब पाँच महिना बितिसक्दा पनि टेलिग्राममार्फत हुने ठगीका उजुरी प्रहरी कार्यालयमा घट्नुको साटो झन् बढ्दै गएका छन्।

तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२/८३ को मंसिर मसान्तसम्म मात्रै टेलिग्रामसम्बन्धी २ हजार ९ सय उजुरी परेका छन्। जबकि गत आर्थिक वर्ष ०८१/८२ मा टेलिग्राममार्फत हुने ठगीसम्बन्धी १ हजार ४ सय ५९ उजुरी मात्र परेका थिए। यो तथ्यांकले नै टेलिग्राममाथिको प्रतिबन्ध व्यवहारमा प्रभावहीन बनेको स्पष्ट देखाउँछ।

यसअघिको अवस्था हेर्दा आर्थिक वर्ष ०८०/८१ मा साइबर ब्युरोमा मात्रै टेलिग्रामबाट हुने ठगीका ८१ घटना दर्ता भएका थिए। तीमध्ये ५९ घटना अनुसन्धानकै क्रममा रहेका थिए भने २२ घटना बन्द भएका थिए। यो तथ्यांक साइबर ब्युरोमा मात्र परेको उजुरी हो।

अवैध कारोबारबाट आर्जन गरिएको रकम वैध बनाउने भरपर्दो माध्यमका रूपमा चिनिँदै आएको टेलिग्राम प्रतिबन्धमै रहे पनि प्रहरीमा उजुरी दर्ता हुने क्रम भने घटेको छैन। साइबर ब्युरोका प्रवक्ता दीपक राज अवस्थीका अनुसार प्रतिबन्धपछि पनि टेलिग्रामबाट ठगिनेको संख्यामा कमी आएको छैन। उनले भने, ‘टेलिग्रामबाट ठगिनेको उजुरी आइरहेको छ।’

ठगीका उजुरी बढ्दै गएपछि गत २ साउन मा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो। तर, एप बन्द गरिएको लामो समय बितिसक्दा पनि त्यसको प्रत्यक्ष प्रभाव नदेखिएको प्रहरी अधिकारीहरूको भनाइ छ। प्रहरीका अनुसार प्रतिबन्धपछि पनि टेलिग्राम प्रयोग गरी ठगिनेको संख्यामा उल्लेख्य कमी आएको छैन।

प्रहरीको भनाइमा प्रतिबन्ध अघिकै शैलीमा स्क्यामरहरूले टेलिग्राममार्फत प्रयोगकर्तालाई ठगीको जालोमा पारिरहेका छन्। औपचारिक रूपमा प्रतिबन्ध लागे पनि प्रयोगकर्ताले विभिन्न उपाय अपनाएर टेलिग्राम सहजै प्रयोग गरिरहेका छन्। जसकारण पनि ठगीका गतिविधि निरन्तर चलिरहेका छन्। पछिल्लो समय टेलिग्राम प्रयोग गरी लगानीको नाममा ठगी गर्ने, अनलाइन जुवा तथा क्रिप्टो कारोबारको प्रलोभन देखाउने, नक्कली रोजगारी अफर पठाउने जस्ता गतिविधि बढेको प्रहरीको भनाइ छ। यस्ता घटनामा फसेका पीडितहरूबाट दिनानुदिन प्रहरी कार्यालयमा उजुरी आउने क्रम बढ्दै गएको छ।

यसअघि नै टेलिग्राममार्फत अत्यधिक मात्रामा ठगीका उजुरी परेको भन्दै प्रहरीले गुनासो गर्दै आएको थियो। सोही गुनासोलाई आधार मानेर सरकारले टेलिग्राममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। तर, हालसम्मको अवस्था हेर्दा प्रतिबन्धले ठगी नियन्त्रणमा अपेक्षित नतिजा दिन नसकेको देखिन्छ।

प्रहरी अधिकारीहरूका अनुसार एप प्रतिबन्ध लगाउनु मात्र पर्याप्त नहुने र प्रविधिगत निगरानी, वित्तीय लेनदेनको ट्रयाकिङ तथा डिजिटल सचेतनासँगै लैजानु आवश्यक छ। अन्यथा, ठगीमा संलग्न समूहहरूले नयाँ–नयाँ उपाय अपनाउँदै डिजिटल प्लेटफर्मको दुरुपयोग गरिरहने जोखिम कायमै रहने उनीहरूको निष्कर्ष छ।

एपमाथि प्रतिबन्ध लगाउँदा टेलिग्राममार्फत हुने ठगीका घटना कम हुने अपेक्षा गरिएको थियो। तर, प्रतिबन्धपछि पनि उजुरीको संख्यामा कमी आउन सकेको छैन। सरोकारवालाहरू प्रविधिमा प्रतिबन्धभन्दा नियमन र डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताउँछन्। नेपालमा डिजिटल साक्षरताको अभावकै कारण सर्वसाधारण यस्ता एपका जालोमा पर्ने गरेको प्रहरीको भनाइ छ।

यसैबीच, नेपाल सरकारले भदौँ महिनामा नेपालमा दर्ता नभएका सबै एपहरूमा प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक, ट्विटर, टेलिग्राम, स्न्यापच्याटलगायत सामाजिक सञ्जाल समेटिएका थिए । सोही अवसरमा टेलिग्राम दर्ता प्रक्रियाबारे बुझ्न आएको भएपनि भदौँ २४ र २५ मा भएको जेनजी आन्दोलनपछि केही दिनमै सबै एपमाथिको प्रतिबन्ध हटाइएको थियो। त्यसपछि टेलिग्राम पनि नेपालमा प्रतिबन्धअघिकै जस्तै प्रयोग भइरहेको प्रयोगकर्ताहरू बताउँछन्।

टेलिग्राममाथि साउनमै गरिएको प्रतिबन्धपछि हालसम्म कुनै नयाँ निर्णय भएको छैन। टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता रहेको भन्दै साउनमा प्रतिबन्ध गरिएको थियो। फुकुवासम्बन्धी कुनै निर्णय हालसम्म नभएकाले प्रतिबन्ध यथावत् रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्याल बताउँछन्।


यसअघि ०८० मा सामाजिक सद्भाव बिगारेको आरोपमा सरकारले टिकटक बन्द गरेको थियो। तर बन्द भएको करिब १० महिनापछि ०८१ भदौमा पुनः फुकुवा गरिएको थियो। प्रतिबन्धको समयमा टिकटक भिपिएन प्रयोग गरेर मात्र चल्ने गरेको थियो भने टेलिग्राम भने भिपिएन प्रयोग नगरी पनि चलिरहेको देखिएको छ। त्यस्तै, ०८१ भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ फ्रान्समा पक्राउ परेका थिए।

उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागू औषध तस्करी, ठगी तथा बालबालिकामाथि यौन दुर्व्यवहार सम्बन्धी सामग्री प्रसारमा संलग्नताको आरोप लगाइएको थियो। फ्रान्सले उनलाई जमानतमा छाडेपनि पावेल डुरोभको गिरफ्तारीले विश्वभर टेलिग्रामजस्ता एपको नियमन आवश्यकताबारे बहस सिर्जना गराएको थियो।