एसएमसी एपबाट ठगी गर्ने समूह नै प्रहरीको फन्दामा, १२ करोड बढी ठगी


काठमाडौं –चितवनको खैरहनी नगरपालिका– ६ मा कार्यालय स्थापना गरी ‘एसएमसीएन एड्भरटाइजिङ्ग सर्भिस सेन्टर प्रा.लि नामक कम्पनीको आवरणको प्रयोग गरी एसएमसी आवेदनको माध्यमबाट नेटवर्क विस्तार गरी ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ब्युरोले एक जना हि जियाङजियाङ नामका चिनियाँसहित १० जना नेपालीलाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा हि जियाङजियाङ, मिलन श्रेष्ठ, सौगात थापा, विर बहादुर तामाङ, सोनम खातुन, प्रिया केसी, मोनिका गुरुङ, गिता गुरुङ, नासिर मिया अंसारी, सायरा खातुन र रामनिवास प्रसाद कलवार रहेका छन् । नेपालभर करिब ७० हजार भन्दा बढी नागरिकलाई यस सञ्जालमा जोडेर ठगी गरेको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार हालसम्म २५५ वटा सामूहिक उजुरी दर्ता भएका छन्। जसमा एउटै परिवारका धेरै सदस्यहरू समेत पीडित रहेका छन् । उजुरीका आधारमा हालसम्म १२ करोड ८ लाख १६ हजार ३ सय ७२ बराबरको रकम ठगी भएको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं महानगरपालिका–१७, ठहिटी ठमेलस्थित होटल ‘दि युनिभर्सल’ तथा काठमाडौं र बाहिरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

उक्त समूहले विद्युतीय माध्यमको प्रयोग गरी अनलाइन घोटाला गर्नको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाई र भौतिक रूपमा कार्यालय समेत स्थापना गरी कानूनी काम हो भन्ने भ्रम सिर्जना गरेको खुल्न आएको छ। साथै, विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुट्टो दाबी गरी एसएमसी नामक मोबाइल एपमा आवद्ध गराएको प्रहरीले जनाएको छ । 

ब्यूरोकाअनुसार सदस्यहरूलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसनको प्रलोभन देखाइएको थियो । जसमा लेबल एमा निक्षेपमा १२ प्रतिशत कमिसन र दैनिक कामको ५ प्रतिशत, लेबल बी निक्षेपमा ४ पतिशत कमिसन र दैनिक कामको २ प्रतिशत ,लेबल सी निक्षेपमा १ प्रतिशत कमिसन र दैनिक कामको १ प्रतिशत आम्दानी आउने बताइएको थियो । 

त्यस्तै, उनीहरुले कुनै वास्तविक व्यापारिक कारोबार नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिन ‘पोन्जी मोडल’ अपनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । साथै, ब्ल्याक रक जस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ प्रतिशतसम्म प्रतिफल दिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी तथा संगठित अपराध अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ब्युरोले एसएमसी एप वा यस्तै अन्य कुनै अनलाईन टास्कमा ठगिएममा तुरुन्त आफ्ना प्रमाणहरू (डिजिटल स्क्रीनशट, बैंक ट्रान्सफर भौचर आदि) सहित नजिकैको जिल्ला प्रहरी कार्यालय उजुरी दिन सर्वसाधरणलाई आग्रह समेत गरेको छ । यस्तै, ब्युरोले आफ्ना खाता तथा विवरण शेयर गर्न नहुने बताउँदै प्रलोभनको पछि नलाग्न समेत आग्रह गरेको छ ।