भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख रुपैयाँ संकलन


काठमाडौं – गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो। जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो। कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासिय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृ निकायलगायतलाई आग्रह गरेको थियो।

पुनःनिर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ। पुनःनिर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखामा खाता खोलिएको छ। योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन्।