पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर


काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमा १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

त्यस्तै, कम्पनीले १० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।