एन्डोरा पठाइदिन्छु भन्दै  ५९ लाख ठगी गर्ने तीन जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि एन्डोरा पठाइदिन्छु भन्दै ५९ लाख ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका विश्व ठकुरी भन्ने विश्व विक्रम सेन, अर्जुन कुमार निरौला र काठमाडौंका गोपाल भन्ने प्रेम श्रेष्ठ रहेका छन्। 

साथै, प्रारम्भिक अनुसन्धानको सिलसिलामा उनीहरुले एन्डोरामा कामदारको रूपमा जानको लागि प्रति व्यक्ति १५ लाख लाग्ने, मासिक तलब दुई लाख पचास हजार हुने भन्दै रकम उठाउने गरेको खुल्न आएको छ।

त्यस्तै, कतार एयरवेजको हवाई टिकट देखाई हाल सम्म सम्पर्कमा आएका ९ जना पीडितहरूबाट ५९ लाख पचास हजार रकम लिई बाँकी रकमसहित एन्डोरा जानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाएको समेत खुल्न आएको छ। प्रहरीका अनुसार पीडितहरू नाममा देखाएको हवाई टिकट, भिसा, अफर लेटर लगायतका कागजातहरू नक्कली रहेको देखिएको छ। 

पीडितहरूसँग रकम लिई नक्कली हवाई टिकट, एन्डोरा देशको नक्कली भिसा, नक्कली अफर लेटर लगायत कागजातहरू देखाई पीडितहरूलाई विदेश पठाउने भनी विश्वास दिलाई ठगी गरिरहेको भन्ने विशेष सूचनाको उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

उनीहरूलाई  काठमाडौंको काठमाडौं महानगर– ९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। साथै, प्रहरीले विश्व ठकुरी भन्ने विश्व विक्रम सेन समेतको समूहबाट एन्डोरा लगायतका युरोपका विभिन्न मुलुकहरूमा पठाइदिने भनी ठगिएका अन्य पीडितहरूले निजहरू विरुद्ध आवश्यक कानुनी कारबाहीका लागि आवश्यक कागजात सहित जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिनु हुन अनुरोध समेत गरेको छ।