आजदेखि सर्वसाधारण लागि सालपा विकास बैंकको आईपीओमा बिक्री खुला


काठमाडौं – सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।जसमध्ये, पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, बैंकले ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि समेत बाँडफाँट गरिसकेको छ।अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा सर्वसाधारणले आजदेखि पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्।