च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छः मन्त्री डा. परियार


काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवद्र्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन्।

राष्ट्रिय च्याउ दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री डा.परियारले प्रविधि विस्तार, बजारीकरण तथा प्रवद्र्धन गर्न कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको बताए।

गुणस्तरीय च्याउ उत्पादन र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आघात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने सरकारले निर्णय गरेबमोजिम पहिलो पटक राष्ट्रिय च्याउ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको तथा करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको तथ्याङ्क छ। नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ।

विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन, प्रवर्द्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनकाे आधार तय हुँदै गएको छ। अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको मन्त्री डा परियारले उल्लेख गरे।

आगामी दिनमा च्याउ क्षेत्रको थप प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवर्द्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागि उनले आह्वान गरेका छन्।