काठमाडौं – आजदेखि रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ करोड ८५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सो शेयर खरिदका लागि गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाको सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिकाको वडा नं.१, २, ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस २८ गते हुनेछ भने ढिलोमा माघ १२ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते हुनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको अनलाइन लिङ्कमा गई पनि आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया