नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले आफ्नो स्थापनाको १७औँ वर्ष पूरा गरेको छ। यो अवसरमा पछाडि फर्केर हेर्दा एउटा निकै रोचक तर चुनौतीपूर्ण इतिहास आँखा अगाडि आउँछ। मलाई आज पनि सम्झना छ, १७ वर्षअघि हामी नेपाल राष्ट्र बैंकको थापाथली स्थिचत कार्यलयको बरण्डामा बसेर हातले चेक इन्ट्री गथ्र्यौं, चेक बोकेर एउटा बैंकबाट अर्को बैंक दौडिनुपर्ने अवस्था थियो। त्यो झन्झटिलो ‘फिजिकल’ प्रक्रियाबाट आज हामी पूर्ण रूपमा ‘डिजिटल’ इकोसिस्टममा आइपुगेका छौँ। यो यात्रा केवल प्रविधिको विकास मात्र होइन, यो नेपालको वित्तीय क्षेत्रको एउटा ठूलो क्रान्ति नै हो।
हामीले सन् २०१४ मा ‘नेसनल पेमेन्ट सिस्टम डेभलपमेन्ट स्ट्राटेजी’ ल्याएर विद्युतीय भुक्तानीको जुन जग बसालेका थियौँ, त्यसलाई एनसीएचएलले उत्कृष्ट ढंगले अगाडि बढायो। इलेक्ट्रोनिक चेक क्लियरिङ ९ईसीसी० बाट सुरु भएको यो यात्रा आज कनेक्ट आइपीएस, रिटेल पेमेन्ट स्विच र नेपाल पे क्यूआरसम्म पुग्दा बैंकिङ्ग कारोबार अत्यन्त सहज र न्यून शुल्कमा हुने भएको छ। नेपाल राष्ट्र बैंकले अहिले भुक्तानी प्रणालीको विकास र अर्थतन्त्रको डिजिटाइजेशनलाई उच्च प्राथमिकतामा राखेको छ।
अबको हाम्रो लक्ष्य भनेको भुक्तानी प्रणालीलाई बौद्धिक, अन्तरसम्बन्धित र समावेशी बनाउनु हो। यसैलाई मध्यनजर गर्दै हामीले डिजिटल फाइनान्स इनोभेसन हब सञ्चालनमा ल्याएका छौँ। वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगलाई थप व्यवस्थित गर्न फिनटेक स्ट्राटेजी र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ गाइडलाइन्स जारी हुने क्रममा छन्। एआईको प्रयोगलाई हामीले अबको वित्तीय सुधारको मुख्य औजारको रूपमा लिएका छौँ, जसमा सरोकारवालाहरूबाट रचनात्मक सुझावको अपेक्षा पनि गरेका छौँ।
यद्यपि, प्रविधिको विस्तारसँगै सुरक्षाका चुनौतीहरू पनि थपिएका छन्। पछिल्लो समय डिजिटल फ्रड र अनधिकृत कारोबारका घटनाहरू बढ्दै गएका छन्। म सबै बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायकहरूलाई के आग्रह गर्न चाहन्छु भने, निर्देशनको पालना मात्र गरेर पुग्दैन, अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सावधानी अपनाउनु र आम नागरिकमा चेतना अभिवृद्धि गर्नु हाम्रो प्राथमिक दायित्व हो। सुरक्षित भुक्तानी प्रणाली नै एक स्वस्थ डिजिटल अर्थतन्त्रको आधार हो।
अन्तमा, हाम्रो अबको गन्तव्य भनेको क्रस बोर्डर भुक्तानीलाई थप सरल र सुलभ बनाउनु हो। रेमिट्यान्स र व्यापारिक भुक्तानीमा रहेको झन्झट हटाएर अन्तर्राष्ट्रिय स्तरमा सहजै भुक्तानी गर्न सकिने वातावरण बनाउन एनसीएचएलको भूमिका अझै महत्वपूर्ण हुनेछ। १७ वर्षको यो सफल यात्राका लागि एनसीएचएलको सम्पूर्ण टिमलाई बधाई दिँदै, आगामी दिनमा पनि नेपाल राष्ट्र बैंक तपाईँहरूको यो डिजिटल अभियानमा दरिलो साथ र सहयोग दिन सदैव प्रतिबद्ध छ।
(राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रद्वारा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) काे वार्षिक साधारण सभामा प्रस्तुत वक्तव्यमा आधारित)



About Us
प्रतिक्रिया