क्रिसमस मनाउन पाँच महिनामा झण्डै १४ करोडका सामग्री आयात, सजावटका बत्तीको हिस्सा सबैभन्दा ठूलो


काठमाडौं — चालु आर्थिक वर्षको मंसिरसम्म नेपालमा क्रिसमस तथा अन्य उत्सवजन्य सामग्रीको आयात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा झण्डै १४ करोड २७ लाख रुपैयाँ बराबरका क्रिसमससँग सम्बन्धित सामग्री आयात भएका छन् ।

क्रिसमस ट्रीमा प्रयोग हुने लाइटिङ स्ट्रिङ (एलईडी) प्रमुख वस्तुका रूपमा आयात भएको छ । एलईडी लाइटका लागि मात्र करिब ३ करोड ९९ लाख रुपैयाँ बराबरको आयात भएको छ । यसैगरी क्रिसमस ट्रीका लागि प्रयोग हुने अन्य लाइटिङ स्ट्रिङको आयात करिब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, उत्सव, कार्निभल तथा मनोरञ्जनसम्बन्धी सामग्रीको आयात करिब ७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यो कुल आयातको ठूलो हिस्सा हो । यसले क्रिसमस मात्र नभई अन्य उत्सव तथा कार्यक्रमका लागि प्रयोग हुने सामग्रीको माग पनि बढिरहेको देखाउँछ ।

क्रिसमस उत्सवका लागि प्रयोग हुने फेल्ट तथा अन्य सामग्रीबाट बनेका सजावटी वस्तुहरू पनि आयात भएका छन् । तथ्यांकअनुसार फेल्ट (एक्सेल फेल्ट) बाट बनेका क्रिसमस सामग्री करिब २१ लाख रुपैयाँ र जामोथ (फेल्ट) बाट बनेका सामग्री करिब १ लाख ८१ हजार रुपैयाँ बराबर आयात भएका छन् ।

यसैगरी, बत्तीका लागि प्रयोग हुने प्लास्टिकका पार्टपुर्जा पनि उल्लेख्य मात्रामा आयात भएका छन् । विद्युतीय बत्तीका लागि प्लास्टिक पाट्र्स करिब ४६ लाख रुपैयाँ र गैर–विद्युतीय बत्तीका लागि प्लास्टिक पाट्र्स करिब ८ लाख ५० हजार रुपैयाँ बराबर आयात भएको छ ।