शेयरधनीलाई कुन वाणिज्य बैंकले कति लाभांश दिँदैछन्, यी पाँच बैंकका लगानीकर्ताका हात खाली


काठमाडौं – चालु आर्थिक वर्ष ०८२/८३ का लागि एनआइसी एशिया बैंकबाहेक सबै वाणिज्य बैंकहरूले लाभांश घोषणा गरिसकेका छन्। जसमध्ये पाँच वटा वाणिज्य बैंकका शेयरधनीको हात खाली हुने भएको छ।

कुमारी बैंक, हिमालयन बैंक, नेपाल बैंक, प्रभु बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेका छन्। एनआइसी एशिया बैंकले भने हालसम्म लाभांश सम्बन्धी निर्णय सार्वजनिक गरेको छैन।

बैंकहरूले प्रस्ताव गरेका लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा सम्बन्धित बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछन्। बैंकहरूको चुलिँदो खराब कर्जा, नाफामा संकुचन, पूँजी पर्याप्तता र नियामकीय दबाबका कारण यस वर्ष लाभांश वितरण प्रभावित भएको देखिन्छ। 

हालसम्म एभरेस्ट बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ। त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै उच्च लाभांश दिने बैंकको सूचीमा दोस्रो स्थानमा रहेको छ।

कृषि विकास बैंकले ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने एनएमबी बैंकले ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

नेपाल एसबीआई बैंकले ५ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले ५.५३ प्रतिशत तथा ०.५३ प्रतिशत नगद र ५ तथा १० प्रतिशत बोनस सेयर गरी दुवैले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

ग्लोबल आइएमइ बैंकले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने माछापुच्छ्रे बैंकले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्राइम कमर्सियल बैंकले ०.४२१ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले ०.२६३ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरी कुल ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।