सूर्यकुण्ड हाइड्रोको आईपीओ निष्काशन


काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासी स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।


यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस २३ गते हुनेछ भने ढिलोमा माघ ८ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २३ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन, साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।