काठमाडौं – आफूलाई शाखा अधिकृत भएको भनी नक्कली कागजात तयार गरी सरकारी कर्मचारीको रूपमा परिचय दिँदै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका– १५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका –२२ झोछेमा बस्ने२३ वर्षीय समन श्रेष्ठ रहेका छन्।
लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको जस्तो देखिने नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोसाक समेत प्रयोग गर्दै आफूले नपाएको ओहदाको परिचय देखाई फाइदा लिन खोजिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले सिंहदरबार लगायत विभिन्न सरकारी निकायमा गई आफू शाखा अधिकृत भएको भनी झुटो ओहदा र परिचय दिने, प्रत्यक्ष रूपमा वा फोनमार्फत सरकारी कर्मचारी भएको भन्दै सर्वसाधारणलाई प्रभावमा पार्ने तथा आर्थिक लाभ लिई विभिन्न व्यक्तिलाई जागिर लगाइदिने आश्वासन दिएकाे खुलेकाे छ।
प्रहरीले उनको साथबाट बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति गरिएको भनिएको नियुक्ति पत्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टि सम्बन्धी पत्र, सोही मन्त्रालयबाट जारी गरिएको परिचय पत्र तथा अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धी पत्रलगायतका कागजातहरू बरामद गरेको छ।
श्रेष्ठलाई काठमाडौंको टेकुबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया